काठमाडौँ- पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ भेट गरेका छन्। इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार अधिकारीले बिदाइ भेट गरेका हुन्।
भेटको क्रममा नेपाल-पाकिस्तान द्विपक्षीय सम्बन्ध र सार्क क्षेत्रीय सहयोगसम्बन्धी विषयमा छलफल भएको इस्लामाबादस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।
प्रधानमन्त्री सरिफले इस्लामाबादमा आफ्नो कार्यकालका क्रममा नेपाल-पाकिस्तान सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत अधिकारीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।
भेटमा पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मुहम्मद इसाक दार, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी विशेष सहायक तारिक फतेमी, पाकिस्तानका परराष्ट्र सचिव महामहिम आमना बालोच र पाकिस्तानी पक्षका वरिष्ठ अधिकारीहरू र नेपाली दूतावासका मन्त्री सल्लाहकार तथा उपप्रमुख लोकबहादुर क्षेत्री उपस्थित थिए।