पुटिनसँग वार्ता गर्न ट्रम्प तयार

हिमाल प्रेस २३ कार्तिक २०८१ १०:५४
26
SHARES
पुटिनसँग वार्ता गर्न ट्रम्प तयार अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिमिर पुटिन। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पले आफू रूसका राष्ट्रपति भ्लादिमिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन्। एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले उक्त कुरा बताएको बीबीसीले उल्लेख गरेको छ। ट्रम्पले भनेका छन्, ‘हामी वार्ता गर्नेछौँ।’

ट्रम्पले अहिलेसम्म पुटिनसँग कुरा गरेका छैनन्तर उनले यस सम्भावनालाई अस्वीकार पनि नगरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ। ट्रम्पले आफूले अहिलेसम्म युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेको दाबी गरेका छन्।

सन् २०१६ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अभियानलाई प्रवर्द्धन गर्नका लागि रूसी हस्तक्षेपको आरोप लागेको थियो। यद्यपि रूसले यस्ता सबै आरोप अस्वीकार गर्दै आएको छ।

रूसी राष्ट्रपति पुटिनले बिहीबार ट्रम्पलाई अमेरिकाको राष्ट्रपति चुनाव जितेकोमा बधाई दिएका छन्।

पुटिनले आफ्नो बधाई सन्देशमा भने, ‘म डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति चुनावमा जितका लागि बधाई दिन चाहन्छु। मैले पहिल्यै भनेको थिएँ कि हामी त्यस्ता राष्ट्रप्रमुखसँग काम गर्नेछौँ, जसमा अमेरिकी जनताको विश्वास रहेको छ।’

पुटिनले युक्रेन युद्ध समाप्त गर्न सक्ने दाबीमा ध्यान दिन ट्रम्पलाई आग्रह गरेका छन्। चुनावी अभियानका क्रममा पनि ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने दाबी गरेका थिए।

प्रकाशित: २३ कार्तिक २०८१ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast