मृगलाई हानेको गोली साथीलाई लाग्यो, दृष्टि भ्रम भएको प्रहरीसामु स्वीकार

हिमाल प्रेस २३ कार्तिक २०८१ ७:५६
22
SHARES
मृगलाई हानेको गोली साथीलाई लाग्यो, दृष्टि भ्रम भएको प्रहरीसामु स्वीकार प्रतिनिधिमूलक तस्बिर

खोटाङ- सिकार खेल्न सँगै जंगल गएका साथीले हानेको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ।

फेदीको हात्तीढुंगे जंगलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो।

मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद) को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिए। ‘रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन्। चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ। तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ’, उनले भने।

गोली लागेर जगतप्रसादको मृत्यु भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृग भनेर गोली हानेको तर दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको चेतनले स्वीकार गरिसकेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले बिहीबार घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको जनाइएको छ।

घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको निरीक्षक कार्कीले बताइन्।

प्रकाशित: २३ कार्तिक २०८१ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =