काठमाडौँ- डोनाल्ड ट्रम्प अमेरिकाको ४७औँ राष्ट्रपतिका लागि निर्वाचित भएका छन्। ट्रम्प यसअघि अमेरिका ४५औँ राष्ट्रपति थिए। अमेरिकाको पछिल्लो एक सय वर्षको इतिहासमा ट्रम्प एकचोटि चुनाव हारेर फेरि व्हाइट हाउसमा फर्कन लागेका हुन्। उनी सन् २०२० को निर्वाचनमा पराजित भएका थिए।
ट्रम्प निर्वाचित भएपछि विश्वका केही देशका लागि चिन्ताको विषय बन्ने विश्लेषण गर्न थालिएको छ। ट्रम्पको ह्वाइट हाउसमा पुनरागमन यस्तो बेलामा भएको छ जति बेला विश्वका केही भाग युद्ध र अनिश्चितताको अवस्थाबाट गुज्रिरहेका छन्। त्यसैले यतिबेला धेरैको प्रश्न छ, युद्ध र अनिश्चितताको अन्त्य होला?
चुनावी अभियानका क्रमममा डोनाल्ड ट्रम्पले आफ्नो परराष्ट्र नीतिमा व्यापक परिवर्तन गर्ने संकेत गरेका थिए। यद्यपि उनले केके विषयमा परिवर्तन गर्ने भनेर खुलाएका थिएनन्। उनको जितले के संकेत गर्छ भने युद्ध र अनिश्चितताको दोहोरो संकटको समयमा अमेरिकी परराष्ट्र नीतिमा महत्त्वपूर्ण परिवर्तन देखिन सक्छ।
ट्रम्पले चुनाव प्रचारका क्रममा पटकपटक भनेका थिए, रूस र युक्रेनको युद्ध ‘एक दिन’मै समाप्त गर्न सक्छु। उनको प्राथमिकता युद्ध रोक्नु देखिन्छ। युद्ध अन्त्य गर्ने ट्रम्पको ‘अमेरिका पहिलो’ नीति नेटोको भविष्यमा पनि असर पार्न सक्छ। नेटोको गठन दोस्रो विश्वयुद्धपछि सोभियत संघको प्रभाव रोक्न गरिएको हो।
अमेरिका नेटोको संस्थापक सदस्य हो। नेटोका ३२ सदस्य छन्। ट्रम्प सुरुबाटै नेटोप्रति शंका व्यक्त गर्दै आएका छन्। प्रश्न उठेको छ, के अमेरिका नेटोबाट बाहिर निस्कनेछ? यस्तो भएमा पछिल्लो एक शताब्दीदेखि चलिरहेको ट्रान्स–एटलान्टिक सम्बन्धमा एक महत्त्वपूर्ण परिवर्तन हुनेछ।
ट्रम्पले युक्रेनजस्तै मध्यपूर्वमा पनि शान्ति ल्याउने वचन दिएका छन्। उनले गाजा, इजारायल, हमास र लेबनानमा संघर्ष समाप्त गर्न सक्ने विश्वास गरिएको छ। तर यसरी शान्ति ल्याउने उपाय के हो भनेर उनले खुलासा गरेका छैनन्।
ट्रम्पले भन्दै आएका छन्, आफू राष्ट्रपति भएमा हमासले इजरायलमाथि आक्रमण गर्दैन। इरानको मामलामा सम्भवतः ट्रम्प आफ्ना पुरानो नीतिमा फर्कन चाहन्छन्। ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले इरानसँगको आणविक सम्झौता भंग गरेको थियो। उसमाथि प्रतिबन्ध बढाइएको थियो। ट्रम्पले पहिलो कार्यकालमा इरानका शक्तिशाली कमान्डर कासिम सुलेमानीलाई मार्न आदेश दिएका थिए।
ह्वाइट हाउसमा रहेका बेला ट्रम्पले इजरायललाई बलियो साथ दिएका थिए। जेरुसेलमलाई इजरायलको राजधानी मानिएको थियो र अमेरिकी दूतावासलाई तेल अभिबबाट जेरुसेलम सार्ने निर्णय गरेका थिए। इजरायका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले त्यति बेला भनेका थिए, अमेरिकी प्रशासनमा यसअघि इजरायलको यति राम्रो साथी कहिल्यै भएको थिएन।
प्यालेस्टिनीहरूले भने ट्रम्पलाई बहिष्कार गरेका थिए किनभने उनले जेरुसेलममा प्यालेस्टिनी दाबी अस्वीकृत गरेका थिए। ट्रम्पका केही प्रमुख अरब देशका नेताहरूसँग पनि मित्रता छ। सोही कारण उनको हमाससँग सम्बन्ध रहेको विश्वास गरिन्छ। तर उनले इजरायलको समर्थन दिने नीति र मध्यपूर्वमा युद्ध समाप्त गर्ने चाहनाबीच कसरी सन्तुलन राख्नेछन् भन्ने टुंगो छैन।
ट्रम्पको पुनः आगमनपछि अमेरिकाले चीनप्रति आफ्नो नीति ठूलो परिवर्तन गर्न सक्छ। ट्रम्पले पहिले चीनलाई आफ्नो ‘रणनीतिक प्रतिस्पर्धी’ का रूपमा पहिचान गरेका थिए। व्यापारिक सम्बन्ध भने बिगारेका थिए। यद्यपि दुई देशबीच तनाव कम गर्नका लागि प्रयासहरू कोभिड-१९ महामारीले विफल बनाएको थियो।
ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङलाई ‘चलाख’ र ‘खतरनाक’ भनेका थिए। उनले सीको शासनको प्रशंसा गरेका थिए। ताइवान मामिलामा ट्रम्पले भनेका थिए, आफू फेरि व्हाइट हाउसमा फर्केपछि चीनविरुद्ध सैन्य बल प्रयोग गर्ने छैन। उनले त्यति बेला ताइवानमाथि लगाइएको नाकाबन्दी समाप्त गर्नका लागि चीनमा थप आर्थिक दबाब बढाउने उद्देश्य लिएका थिए।
यस दृष्टिकोणबाट अमेरिक र चीनको सम्बन्धमा थप तनाव बढ्न सक्ने सम्भावना छ। अन्ततः ट्रम्पले चीनमाथि थप आर्थिक दबाब र सैन्य हस्तक्षेपको सम्भावना बढाउन सक्छन्। बीबीसीको सहयोगमा