ट्रम्पको जितमा अफगानिस्तान, इरान, प्यालेस्टिन र हमासको यस्तो छ प्रतिक्रिया

हिमाल प्रेस २२ कार्तिक २०८१ १०:४३
22
SHARES
ट्रम्पको जितमा अफगानिस्तान, इरान, प्यालेस्टिन र हमासको यस्तो छ प्रतिक्रिया जापानी पत्रिकाहरूमा बिहीबार प्रकाशित अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितसम्बन्धी समाचार। तस्बिर : एपी/रासस

काठमाडौँ- अफगानिस्तानको तालिबान सरकारको परराष्ट्र मन्त्रालयले डोनाल्ड ट्रम्प नेतृत्वको आगामी अमेरिकी सरकारले दुवै देशबीचको द्विपक्षीय सम्बन्धमा ठोस प्रगति सुनिश्चित गर्ने आशा व्यक्त गरेको छ। अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि तालिबान सरकारको यस्तो प्रतिक्रिया आएको हो।

तालिबान सरकारले भनेको छ, ‘नयाँ अमेरिकी सरकारले अफगानिस्तानप्रति व्यावहारिक दृष्टिकोण अपनाउनेछ, जसले गर्दा दुवै देशबीच सम्बन्धको नयाँ अध्याय सुरु हुनेछ।’ अफगानिस्तानले अमेरिकासँग आगामी दिनमा सन्तुलित परराष्ट्र नीतिको आशा पनि व्यक्त गरेको छ।

ट्रम्पले विश्वभर भइरहेको संघर्ष, विशेषगरी गाजा र लेबनानमा जारी तनाव अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अफगानिस्तानको छ। सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने घोषणा गरेका थिए।

यसैगरी प्यालेस्टिनी सरकार प्रमुख महमुद अब्बासले ट्रम्पलाई बधाई दिँदै सफलताको कामना गरेका छन्। प्यालेस्टिनी सरकार नियन्त्रित समाचार एजेन्सी वफा वेबसाइटमा बुधबार पोस्ट गरिएको सन्देशमा महमुद अब्बासले क्षेत्रीय शान्ति र सुरक्षाका लागि ट्रम्पसँग सहकार्य गर्ने आशा व्यक्त गरेका छन्। उनले सन्देशमा भनेका छन्, ‘हामी शान्तिका लागि हाम्रो प्रतिबद्धतामा दृढ छौँ र हामीलाई विश्वास छ अमेरिका तपाईँको नेतृत्वमा प्यालेस्टिनीहरूको वैध मागलाई समर्थन गर्नेछ।’

हमासका वरिष्ठ नेता बासम नैमले भने ट्रम्पको जितलाई अमेरिकाको निजी मामिला भनेका छन्।

यद्यपि उनले गाजामा जारी संघर्षको अन्त्यको आशा गरेका छन्। साथै उनले प्यालेस्टिनलाई स्वतन्त्र देश र जेरुसेलमलाई यसको राजधानी बनाउने कार्यमा सहयोगको अपेक्षा पनि गरेका छन्।

इरानले पनि ट्रम्पको जितले इरानमा पर्ने सम्भावित असरलाई अस्वीकार गरेको छ। इरान सरकारकी प्रवक्ता फतेमेह मोहजेहरानीले बुधबार सरकारी टीभी च्यानल आईआईबीमा भनिन्, ‘अमेरिकी राष्ट्रपति चुनाव हाम्रा लागि महत्त्वपूर्ण छैन। अमेरिका र इरानमा सरकार परिवर्तनले धेरै कुरा परिवर्तन गर्ने छैन। ह्वाइट हाउसमा जोसुकैले बसे पनि यसले हाम्रो जनताको जीवनमा कुनै असर पार्ने छैन।’

सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरान परमाणु सम्झौता अन्त्य गरेका थिए। बाराक ओबामाको कार्यकालमा इरान र अमेरिकाबीचको परमाणु सम्झौता भएको थियो। समाचार एजेन्सी एपीसँगको कुराकानीमा तेहरानका एक विद्यार्थीले ट्रम्पको जितमा प्रतिक्रिया जनाउँदै भने, ‘ट्रम्पले इरानमाथिका प्रतिबन्ध अझ बढाउनेमा कुनै शंका छैन।’

चीनको परराष्ट्र मन्त्रालयले आधिकारिक एक्समा पोस्ट गरेको छ, ‘हामी अमेरिकी जनताको चुनावको सम्मान गर्छौँ र डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति चयनमा बधाई दिन्छौँ।’ पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै देशको फाइदाका सिद्धान्तअन्तर्गत द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता चिनियाँ परराष्ट्र मन्त्रालको छ।

अमेरिकी राष्ट्रपतिको चुनाव परिणाममा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गरेका थिए। उनी यसअघि २०१६ पनि राष्ट्रपति पदमा निर्वाचित भएका थिए। अहिलेसम्म अमेरिकामा महिला राष्ट्रपतिले नेतृत्व गर्न सकेकी छैनन्। यसपटक डेमोक्रेटिक उम्मेदवार कमला हैरिसले पनि यो परम्परा तोड्न असफल भएकी छन्। बीबीसीको सहयोगमा

विश्वका नेताहरूले ट्रम्पलाई दिए बधाई, कसले के भने?

प्रकाशित: २२ कार्तिक २०८१ १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast