जनकपुरधाम – श्रद्धा, भक्ति र साझा सांस्कृतिक प्रतिबिम्बको रूपमा मनाइने छठ पर्व देशभर उल्लासपूर्वक मनाइँदै छ। छठ पर्वको तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइँदै छ।
साँझ अस्ताउँदै गरेको सूर्यको उपासना गर्न पोखरी, नदी, तलाव, जलाशयहरू दुलही झैँ सजाइएको छ।
बुधबार साँझ खरना सकिएसँगै ब्रतालुहरू जनकपुरधामस्थित पोखरीका घाटहरूमा पूजाका सामग्री पुर्याइसकेका छन्। ग्रामीण भेगहरूमा सन्ध्याकालीन अर्घ्य दिइने दिन दिउँसो पुजा सामग्रीहरू घाटमा लगिने गरिए पनि जनकपुरमा भने खरनाको राति नै पुर्याउने गरिन्छ।
छठ पुजा गर्नेहरूको अनुपातमा घाटको संख्या कम भएकाले मध्यरातमै अर्घ्यका सामग्रीहरू पोखरीमा पुर्याउने गरिएको छ। यद्यपि स्थानीय युवा क्लब र छठ पुजा समितिहरूले ब्रतालुलाई घाटको अभाव नहुने बताएको छ। जनकपुरका अधिकांश पोखरीका घाटहरू पुजा सामग्रीले भरिभराउ भइसकेका छन्। पोखरीका घाटहरूमा सजाइएर राखिएका पुजा सामग्रीले छठको शोभालाई थप आकर्षक बनाएको छ।
जनकपुरमा एक दर्जनभन्दा बढी पोखरीमा छठ हुने गरेको छ। छठमा गंगा सागर, धनुष सागर, अङ्गराजसर, बिहार कुण्ड, रत्नसागर, अग्निकुण्ड, दशरथ तलावलगायतका पोखरीहरू आकर्षणको केन्द्र बन्ने गरेको छ।
अस्ताउँदै गरेको सूर्यलाई अर्घ्यदिइ सकेपछि पूजन समाग्रीहरु घाटमै राखेर ब्रतालुहरू रातभर जाग्राम बस्ने गर्दछन्।
शुक्रबार बिहान ब्रतालुहरूले उदाइँदै गरेको सूर्यालाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ। छठको अन्तिम दिनलाई पारन भनिन्छ। सूर्योदय हुनुपुर्व परिवारका सदस्यहरू फेरि जलाशयमा पुगेर श्रद्धा र भक्ति भावका साथ पूजा गर्ने गर्दछन्।
देशभर प्रसिद्ध जनकपुरको छठ हेर्न ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुगेका छन्। यस वर्ष पनि छठ हेर्न उल्लेख्य संख्यामा पर्यटकहरू जनकपुर आइपुगेको होटल व्यवसायीहरू बताउँछन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा छठ हेर्न स–परिवार जनकपुर पुगेका छन्। महामन्त्री थापा बुधबार साँझ जनकपुर आएका हुन्। उनको जनकपुरबाट छठ हेर्न बीरगञ्ज जाने कार्यक्रम रहेको छ।
जनकपुरजस्तै बीरगञ्जको छठ पनि आकर्षक मानिन्छ। त्यहाँको घडिहर्वा पोखरी छठका लागि भव्य ढंगबाट सजाइएको छ।
छठ पर्व गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि आउनुका साथै चर्म रोग निको हुने जनविश्वास रहेको छ। महाभारतअनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहेकाबेला गुप्तवास सफल बनाउन सूर्यदेवको आरधाना गरेको जनविश्वास रहेको छ।
सूर्यउपासना गर्ने संसारमा यो मात्रै एउटा यस्तो पर्व हो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने गरिन्छ। विगतमा तराई–मधेशमा मात्र मनाइने छठ पर्व पछिल्लो समय देशभर मनाउन थालिएको छ।