‘जलवायु परिवर्तनको असर नेपालमा बढी देखिन थाल्यो’

हिमाल प्रेस २१ कार्तिक २०८१ १७:३४
26
SHARES
‘जलवायु परिवर्तनको असर नेपालमा बढी देखिन थाल्यो’

काठमाडौँ-जलवायु परिवर्तनका कारण नेपालमा मनसुन वर्षाको प्रकृति, मात्रा र समय तालिका खलबलिएको वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बताएका छन्।

ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन)ले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलन २०२४ मा सरकारले अजरवैजानमा हुने कोप–२९ मा उठाउनुपर्ने महत्वपूर्ण कामसम्बन्धी छलफलमा मन्त्री ठकुरीले कार्बन उत्सर्जनमा न्यून योगदान भए पनि ज्यादा प्रभाव बेहोर्न बाध्य नेपालले जलवायु वीत्त सहयोगमा सहज र न्यायोचित हुनुपर्ने जानकारी दिए।

जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा पहिरो र खडेरी, तराईमा बाढी जस्ता चुनौती थपिएको उनको भनाइ छ। ‘अतिशययुक्त प्रकोप र विपद्का घटनामा वृद्धि साथै खास गरी हिमाली क्षेत्रमा हिउँ पग्लिने र हिमताल विस्फोट भइरहेका छन्। यस्तो समस्यामा समाधान गर्ने सरकारले उपयुक्त पहल गरिरहेको छ’ उनले भने।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा नेपालले यस विषयमा जोडदार आवाज उठाउने उनले जानकारी दिए। अजरवैजानमा कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ हुँदै छ। यस सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २७ गते अजरबैजान जाँदैछन्।

यस्तै छलफल कार्यक्रममा जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक शारीरिकजस्ता समस्या भोग्नुपर्ने दिन आएको वातावरणविज्ञ माधव कार्कीले औँल्याए। उनका अनुसार जलवायु परिवर्तनको अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभाव पर्न थालेको छ। यसका लागि विश्वका विकशित र अर्धविकशित देश मिलेर काम गर्नुपर्ने बताए।

यसैगरी राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तका अनुसार जलवायु परिवर्ततलाई सामान्य रुपमा र राजनीतिककरण गर्नु नहुने बताइन्। उनका अनुसार जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनस्वरूप बढ्दो तापमान, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, नदी कटान, कृषि बालीको भौतिक क्षतिका कारण मानवीय जिवनमा प्रभाव पर्न थालेको छ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने प्रभावका फलस्वरूप सन् २०३० अर्थात् एक दशकभन्दा कमको अवधिमा कुल आर्थिक वृद्धिदर शून्य दशमलव सातदेखि शून्य दशमलव आठ प्रतिशतमा झर्ने विषय स्वाभाविक रूपमा चिन्ता रुपमा देखिएको उनको भनाइ छ।

जलवायु परिवर्तनका कारण बालीनाली तयार भएर उठाउने बेलामा बाढी र डुबानले तहसनहस पारेको छ। कहिलेकाँहीमध्ये वर्षात् याममा खडेरीको समस्या नेपालमा पर्ने थालेको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन्।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ।

प्रकाशित: २१ कार्तिक २०८१ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast