काठमाडौंँ- असोज दोस्रो साता परेको अविरल वर्षाका कारण यस वर्ष धान उत्पादन घट्ने आकलन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ। लगभग ९९ प्रतिशत धान रोपाइँ भएपछि यसअघि मन्त्रालयले धान उत्पादन बढ्ने अनुमान गरेको थियो। वर्षाका कारण धानबालीमा क्षति भएपछि उत्पादन घट्ने मन्त्रालयका अधिकारीहरूले बताएका हुन्।
१३ लाख ९० हजार ९५ हेक्टर रोपाइँ हुने क्षेत्रमध्ये करिब १३ लाख ८० हेक्टरमा रोपाइँ भएको कृषि विभागको तथ्यांक छ। गत वर्षको तुलनामा यस वर्ष करिब ८ प्रतिशतले रोपाइँ बढेको थियो।
गत आवमा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएकको थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब सात प्रतिशतले बढी हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले चालु आर्थिक वर्षमा रोपाइँको क्षेत्रफल बढेका कारण ९ प्रतिशतले धान उत्पादन बढ्ने अनुमान गरिए पनि बाढीका कारण त्यो सम्भव नभएको बताए।
चार वर्षको औसतमा गत वर्ष सात प्रतिशतले धान उत्पादन बढेको थियो। यस वर्ष नौ प्रतिशतभन्दा बढी धान उत्पादन बढ्ने अनुमान गरिए पनि असोजमा आएको बाढी–पहिरोले असर गरेको उनले बताए। ‘धान राम्रो फलेको थियो। त्यही भएर उत्पादन बढ्ने अनुमान गरिएको हो। असोजमा परेको वर्षाले धानखेतीमा ठूलो क्षति पुर्याएको छ’, उनले भने, ‘पहाडका धानखेतमा पहिरो र तराईमा डुबानले असर गरेको छ। त्यसैले धान उत्पादन घट्ने देखिएको छ।’
समयमै भएको वर्षा, प्रविधि प्रयोग र रासायनिक मल उपलब्धता भएका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको उनी बताउँछन्। गत वर्ष धान सिजन सुरुवातमै पानी र मलको समस्या थियो।
कृषि मन्त्रालयका अनुसार यस व्र्ष १ लाख ५० हजार टन धान उत्पादनमा घट्ने अनुमान छ। धानबालीको औसत उत्पादकत्व अघिल्लो आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भएर प्रतिहेक्टर ३.९८ टन पुगेको थियो। जुन चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशत भएको कृषि मन्त्रालयले जनाएको छ।
बाढीपहिरोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी ३ अर्ब ५० करोड रुपैयाँ बराबर क्षति भएको कृषि मन्त्रालयले जनाएको छ। प्रारम्भिक विवरणअनुसार सबैभन्दा धेरै धानखेती नष्ट भएको छ। बाढीले ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट भएको मन्त्रालयले जनाएको छ।
कृषि मन्त्रालयले संकलन गरेको विवरणअनुसार बाली, पशुपन्छी धन, माछालगायतमा ६ अर्ब बढीको क्षति देखिएको हो। देशभर आएको भीषण वर्षाले कृषिमा मात्र करिब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भइसकेको छ। जसमा सबैभन्दा बढी नगदेबाली धान र चौपायामा क्षति पुगेको कृषि मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्ष २०७९/८० मा ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन धान उत्पादन भएको थियो। आव २०७८/७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन, आव २०७७/०७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन र आव २०७६/०७७ मा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा छ।