सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बृहत सांगितिक कार्यक्रम हुने भएको छ। यही कात्तिक २२ गते बिहीबार भोली दिउँसो १ बजे सिटीहलको प्राङ्गणमा बृहत सांगितिक कार्यक्रम हुनेछ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा बृहत सांगितिक कार्यक्रम गर्न लागिएको प्रतिष्ठान सुर्खेतका अध्यक्ष कविराज गिरीले जानकारी दिए।
युवालयका सहयात्रा परियोजना संयोजक पूजा कार्कीका अनुसार परियोजनामा जोडिएर युवाहरूले लिएका कक्षामा सिकेका नृत्य तथा संगितहरू सबै सामु प्रस्तुत गर्न लागिएको हो। लोक संस्कृति जगेना गर्ने भनि चलिरहेको यस परियोजनाबाट कक्षा लिइरहेका युवाहरूले मारुनी, टप्पा, स्याउरे, कौडा नृत्य प्रदर्शन गर्ने र संगितको कक्षामा सिकेका पञ्चेबाजा, झ्याली, कनाल, सहनाई, दमाहा पनि बजाउने छन्।
‘यस कार्यक्रमबाट युवाहरूले सिकेका कलाहरू आम नागरिकका सामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल बुद्धि गर्न सकुन भन्ने हो। साथै, मौलिक कला र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न युवाका भूमिकालाई महत्वपूर्ण स्थान दिनका लागि कार्यक्रम आयोजना गरिएको हो’ कार्कीले भनिन्, ‘आगामी दिनमा उनीहरूले सिकेका कलालाई प्रदर्शन गर्दै आयआर्जनमा जोडिन टेवा पुगोस् भन्ने अपेक्षाका साथ यस कार्यक्रम गर्न लागिएको यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ।’
हाल युवालयले, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका केहि पालिकाहररुमा युवा विकास गतिविधि गरिरहेको युवालयका अध्यक्ष धर्मराज रिमालले बताए।