रास्वपाले भन्यो : रवि लामिछानेलाई हिरासतमा राख्न जरुरी छैन, बाहिर राखेरै अनुसन्धान गरियोस्

हिमाल प्रेस २१ कार्तिक २०८१ १२:२८
22
SHARES
रास्वपाले भन्यो : रवि लामिछानेलाई हिरासतमा राख्न जरुरी छैन, बाहिर राखेरै अनुसन्धान गरियोस् रास्वपा कार्यवहाक प्रवक्ता मनीष झा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधका आधारमा हिरासतमा राखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका कार्यवहाक प्रवक्ता मनीष झाले आज विज्ञप्ति जारी गर्दै लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न माग गरेका हुन्।

रास्वपाले संसदीय छानबिन विशेष समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको कुनै संलग्नता नरहेको दाबी गर्दै हिरासत मुक्त गर्न माग गरेको छ।

‘संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँछौं।’

त्यस्तै झाले मंगलबार पोखरामा रास्वपा समर्थकमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्। ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरिएको पक्राउ विरुद्ध र सहकारी पीडितलाई न्यायको माग सहित कास्कीको पोखरामा हिजो भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेकोप्रति घोर भर्त्सना गर्दछौं,’ उनले भनेका छन्, ‘रत्न चोक हुँदै वाईचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरियो।’

प्रकाशित: २१ कार्तिक २०८१ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast