काठमाडौँ- भारतको राजधानी नयाँदिल्लीमा यस वर्ष पनि कृत्रिम वर्षा गराउने तयारी थालिएको छ। प्रदूषण अत्यधिक बढेपछि कृत्रिम वर्षा गराउन लागिएको दिल्लीका पर्यावरणमन्त्री गोपाल रायलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
दिल्ली सरकारले प्रदूषणसँग जुध्नका लागि कृत्रिम वर्षा गराउने प्रयास गरिरहेको मन्त्री रायले बताए। उनले भने, ‘राजधानीमा लगातार बिग्रँदै गएको हावाको गुणस्तरका कारण श्वासप्रश्वासका बिरामी बढेका छन्।’
जाडोयाम सुरु हुनेबित्तिकै उत्तरी भारत प्रदूषणको चपेटामा पर्छ। चिसो धुलोले भरिएको हावाको तह, सवारीसाधनबाट निस्कने धुवाँ र पजाब-हरियाणाका खेतमा बाल्ने परालको धुवाँले गर्दा सहर प्रदूषित वायुमण्डलले ढाकिन्छ। जसका कारण दिल्ली र वरपरको क्षेत्र विषाक्त कुहिरोमा डुब्न पुग्छ।
कृत्रिम वर्षा गराउने प्रस्ताव २०२३ मा पनि गरिएको थियो तर खराब मौसमका कारण यसलाई कार्यान्वयन गर्न सकिएन। रायले भने, ‘म केन्द्रीय वातावरणमन्त्रीसँग आग्रह गर्छु- दिल्ली र उत्तर भारतमा वायु गुणस्तर सूचक (एक्यूआई) ४०० को स्तरमा पुगेको छ। कृत्रिम वर्षाका लागि अनुमति दिनुहोस् र एउटा बैठक बोलाउनुहोस्।’
मंगलबार दिल्लीका ३९ वायु प्रदूषण मापक केन्द्रमध्ये एक तिहाइले ४०० भन्दा बढी एक्यूआई रेकर्ड गरिएको छ। वायु प्रदूषणको यो तह स्वस्थ व्यक्तिका लागि हानिकारक मानिन्छ। बिरामीका लागि अझै खतरनाक हुन्छ।
दिल्ली र वरपरका निजी अस्पतालका डाक्टरहरूले दीपावलीपछि श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरू बढेको बताएका छन्। गत साता मनाइएको यस पर्वमा धेरैले पटाका पड्काएका थिए। यसबाट पनि प्रदूषण बढेको विज्ञहरूले बताएका छन्।
फोर्टिस अस्पतालका वरिष्ठ निर्देशक प्रशान्त सक्सेनाले प्रदूषणका कारण दम, सीओपीडी र ब्रोनकाइटिसका बिरामीको संख्या बढिरहेको बताए। यसैगरी गुडगाउँस्थित सीके बिडला अस्पतालका प्रमुख कुलदीप कुमारका अनुसार प्रत्येक दिन ५० भन्दा बढी व्यक्ति श्वासप्रश्वास सम्बन्धी गुनासो लिएर आउने गरेका छन्। तीमध्ये केहीलाई अस्पताल भर्ना गर्नुपर्ने स्थिति रहेको उनले बताए।
अमेरिकाको सिकागो विश्वविद्यालयको ऊर्जा नीति संस्थानको एयर क्वालिटी लाइफ इन्डेक्स प्रतिवेदनका अनुसार बढ्दो वायु प्रदूषणले दक्षिण एसियाका प्रत्येक व्यक्तिको औसत आयु पाँच वर्षसम्म घटाउन सक्छ।
लान्सेट प्लानेटरी हेल्थ जर्नलमा गत जुलाईमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार भारतका १० ठूला सहरहरू (अहमदाबाद, बेंगलुरू, चेन्नई, दिल्ली, हैदराबाद, कोलकाता, मुंबई, पुणे, सिमला र वाराणसी) मा वायु प्रदूषणका कारण सात प्रतिशतभन्दा बढी मृत्यु भइरहेका छन्। दिल्लीमा हरेक वर्ष झन्डै १२ हजार जनाको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
गत महिना भारतको सर्वोच्च अदालतले वायु प्रदूषणमुक्त वातावरणलाई ‘मुख्य मानवअधिकार’ का रूपमा लिँदै केन्द्र तथा राज्य सरकारहरूलाई यसबारे सजग गराएको थियो। राज्यका नेताहरूबीचको आपसी मतभेद र केन्द्र-राज्यबीचको राजनीति वायु प्रदूषणको समस्यालाई झन् जटिल बनाएको टिप्पणी आलोचकहरूले गर्दै आएका छन्।
कृत्रिम वर्षा के हो?
कृत्रिम वर्षालाई ‘क्लाउड सिडिङ’ भनिन्छ। यसका लागि नुनजस्तो सिल्भर आयोडाइड र क्लोराइड जस्ता लवण बादलमा छर्किइन्छन्। सामान्यतया आयोडाइड र क्लोराइड विशेष मेसिनबाट हावामा पठाइन्छ।
यसरी छर्किइएका नुनका सूक्ष्म कणहरूले ‘आइस-न्युक्लिटङ’ कणहरूले जस्तै काम गर्छन्। जसका कारण बरफको क्रिस्टल बादलमा परिणत हुन थाल्छ। यसपछि बादलमा रहेको आर्द्रताले बरफको क्रिस्टललाई घेर्छ र तिनीहरूलाई गाढा बनाउँछ अनि वर्षामा परिणत गर्छ।