छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने

हिमाल प्रेस २१ कार्तिक २०८१ ७:२०
4
SHARES
छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ- पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ। यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ।

उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बागमती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ।  एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बागमती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बागमती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ।

बागमती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो। आयोजनाका उप-निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको राससलाई जानकारी दिए।

‘धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका हौं, उनले भने, ‘विशेष दिनमा हामीले ड्यामको पानी वागमतीमा छाड्दै आएका छौं।’

प्रतिसेकेण्ड चार सय लिटर

समितिले छठ पर्वको दुई दिनसम्म बागमती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ।

‘ड्यामको पानी नदीमा छाड्दा व्रतालुको घुँडासम्म पानी आउने अनुमान गरेका छौं, त्यसो हुँदा व्रतालुहरुलाई स्नान गर्न र पानी चढाउन सहज हुन्छ,’ नेपालले भने, ‘मेलम्ची खानेपानी विकास समितिसँग पनि पानी छाड्नका लागि आग्रह गर्ने छौं।’

मेलम्ची खानेपानी विकास समिति भन्छ : दस करोड लिटरसम्म छाड्न सक्छौं

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले आधिकारिक रुपमा पानी छाड्न आग्रह गरिएको खण्डमा दैनिक १० करोड लिटरसम्म मेलम्चीको पानी उपलब्ध गराउन सकिने जानकारी दिए।

‘मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना नै बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामकै पानी ल्याएर काठमाडौँका उपभोक्तालाई खानेपानीको आवश्यकता पूरा गरेका थियौँ,’ उनले भने, ‘हामीले सापटीका रूपमा पानी ल्याएका थियौ, अहिले दैनिक पाँच करोड लिटरसम्म बढी भएको पानी बागमती नदीमै बगाएका छौं। आवश्यक परेमा छठ पर्वको समयमा दैनिक १० करोड लिटरसम्म पानी बागमती नदीमा बगाउन सक्छौँ।’

मेलम्ची खानेपानी आयोजनाबाट हाल दैनिक २५ करोड लिटर बराबरको खानेपानी उपत्यकामा दैनिक आउने गरेको उनको भनाइ छ। लामिछानेले उपभोक्तामा २५ करोड लिटर पानी नै खपत नभएपछि बाँकी रहेको पानी बागमती नदमा पानीको सतह बढाउन छाडिने गरेको बताएका छन्।

प्रकाशित: २१ कार्तिक २०८१ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast