काठमाडौँमा इनड्राइभको ‘लुटतन्त्र’

रमेश भारती २० कार्तिक २०८१ २०:४८
144
SHARES
काठमाडौँमा इनड्राइभको ‘लुटतन्त्र’

काठमाडौँ– राइड सेयरिङ कम्पनीहरूले चाडबाडको मौका छोपेर यात्रीसँग तोकिएभन्दा बढी भाडा लिएका छन्। काठमाडौँमा सञ्चालनमा रहेका पठाओ, इनड्राइभ, टुटल, जुमजुम र इड्राइभले भाइटीका र त्यसको भोलिपल्ट चर्को भाडा असुल गरेको गुनासो यात्रीहरूले गरेका हुन्।

राइड सेयरिङ कम्पनीले नागरिकमाथि ठगी गर्दा पनि नियमनकारी निकाय यातायात व्यवस्था विभाग र गृह प्रशासन मौन छन्। सेवाग्राहीहरूका अनुसार काठमाडौँमा सञ्चालनमा रहेका राइड कम्पनीमध्ये इनड्राइभले चर्को भाडा असुलेको हो।

तिहारको मौका छोपेर अन्य राइड कम्पनीको तुलनामा इनड्राइभले तीन गुणासम्म बढी भाडा असुलेको पाइएको छ। भाइटीकाका दिन इनड्राइभमा काठमाडौँको सिमलटारबाट भंगाल जानका लागि अनुरोध पठाउँदा एक हजार ७५ रुपैयाँ देखिएको सेवाग्राही नवीन पराजुलीले बताए। उनका अनुसार त्यो रुटमा अघिपछि ट्याक्सी चढ्दा ३५५ रुपैयाँ भाडा उठ्छ।

इनड्राइभले गत वैशाखमा दर्ता प्रक्रियापश्चात काठमाडौँ, चितवन र पोखरामा औपचारिक रूपमा सेवा सुरु गरेको हो। त्यति बेला इनड्राइभले चालकबाट १० प्रतिशतसम्म कमिसन शुल्क लिने घोषणा गरिएको थियो। इनड्राइभले सन् २०२२ को अन्तिमबाट नेपालमा सेवा दिन थालेको थियो।

यद्यपि इनड्राइभको नेपालस्थित कम्पनी कहाँ छ कसरी काम गरिरहेको छ त्यो कतै स्पष्ट छैन। राइड सेयरिङ प्रयोगकर्ताले आफू ठगिएको विषयमा इनड्राइभ कम्पनीको इमेलमा गुनासो गरे पनि कुनै प्रतिक्रिया दिएको छैन।  इनड्राइभ कम्पनीले वेबसाइटमा आफ्नो सम्पर्क नम्बर राखेको छैन।

तिहारका बेला आफ्नो सफ्टवेरमा समस्या आएको दाबी इनड्राइभले रेको छ। उसले एक वक्तव्य जारी गर्दै समस्या आएको जनाएको हो।

पठाओ पनि उस्तै

इनड्राइभ र पठाओसँग जोडिएका ट्याक्सी चालकले दुवै कम्पनीले तिहारको मौकामा बढी भाडा असुलेको बताए। नाम नबताउने सर्तमा एकजना ट्याक्सी चालकले भने, ‘मैले इनड्राइभमार्फत भाइटीकाका दिन सेवाग्राही बोक्दा ३७ हजार रुपैयाँ संकलन गरेछु।’ १० प्रतिशत इनड्राइभलाई बुझाएर बाँकी पैसा आफूले राखेको उनले बताए। उनले भने, ‘यो पनि लुटतन्त्र हैन र? हामीले त कम्पनीले तोकेको भाडा लिएका हौँ।’

चालक कम हुँदा इनड्राइभले बढी लिएर चालकलाई बढी दिएको पनि ती चालकले बताए। पठाओ र इनड्राइभ दुवैमा आबद्ध अर्का चालक भन्छन्, ‘पठाओको कार्यालय बानेश्वरमा छ तर इनड्राइभको कार्यालय मेरियट होटलतिर छ भन्ने सुनेको तर खै थाहा छैन। हामीले एउटा नम्बरमा रकम जम्मा गरेपछि मात्र उसको सेवामा जोडिएका हौँ। यसबारे अरू थाहा छैन।’

सन् २०१८ देखि सञ्चालन आएका राइड सेयरिङ कम्पनीहरूलाई ट्याक्सीको विकल्पका रूपमा लिइएको थियो। पठाओले ट्याक्सीभन्दा सुलभ र कम भाडामा सेवा दिने बताउँदै आएको छ। पछिल्लो समयमा मौका छोपेर पठाओले पनि मनपरी भाडा बढाउने गरेका छन्। आफ्नो एपको प्रयोग गरेर सेवा उपलब्ध गराए पनि दायित्वबोध नगर्ने तर जति पनि भाडा असुल्ने हो भने यस्ता कम्पनीलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने सेवाग्राही बताउँछन्।

छ वर्षअघि सेवाग्राहीहरू ट्याक्सी चालकको ज्यादती सहनै नसक्ने स्थितिमा पुगेका बेला सस्तो भाडादरमा सेवा दिने दाबी गरे पनि अहिले राइड सेयरिङ कम्पनी पनि त्यही समयको ट्याक्सी चालककै अवस्थामा पुग्न लागेका छन्। ट्याक्सी चालकमाथि अर्थिङ गरेर मिटर बढाएको मिटरमा जान नमानेको, जथाभाबी भाडा असुलेको जस्ता आरोप लाग्थे। अहिले राइड सेयरिङ कम्पनी पनि त्यसभन्दा फरक नरहेको सेवाग्राही बताउँछन्।

सेवाग्राहीहरू भन्छन्, ‘ट्याक्सी चालकले मात्र मनपरी भाडा लिन्थे। अहिले राइड सेयरिङ कम्पनीले पनि संस्थागत रूपमै ठगी गरिरहेका छन्। इनड्राइभले कर तिर्छ या तिर्दैन भन्ने पनि केही निश्चित छैन। कुन रुपमा भाडा लिएको त्यसको जानकारी पनि सेवाग्राहीलाई दिँदैन। बिचौलिया कम्पनीका रूपमा रहेको सेयरिङ कम्पनीमाथि आफ्नो दायित्व कम बनाएर नाफामात्र लिने तरिका अपनाएको आरोप लागेको छ।

विदेशमा यस्ता राइड लिँदा तिरेको रकम कम्पनीमा जान्छ र चालकले त्यहाँबाट रकम पाउँछन्। नगद लिएमा चालकले नै आफ्नो रकमबाट कम्पनीमा पठाउनुपर्छ। त्यही प्रणालीअनुसार नेपालमा सेवाग्राहीहरू ठगिन बाध्य छन्।

राइड सेयरिङ कम्पनीको सवारीसाधन चढ्नेबित्तिकै बाइकमा न्यूनतम ५८ रुपैयाँ लाग्छ। कुनैले कम्पनीले न्यूनतम भाडा ६५ रुपैयाँ तोकेको छ भन्दै त्यति नै राइडरले लिन्छन्। कारको हकमा न्यूनतम २ सय ५ रुपैयाँ माथि लाग्छ।

यात्रुले तिरेको भाडादरको २० प्रतिशतको हकदार कम्पनी हुन्छ भने ८० प्रतिशत चालकले लिन्छन्। कम्पनीले निर्धारण गरेको भाडादर कति हो? यसबारे सरकार र यात्रु दुवै बेखबर छन्। कम्पनीले भने यात्रुको चाप हेरेर भाडादर बढाउने गरेका छन्। एउटै रुटमा यात्रा गर्दा बिहान र बेलुका फरकफरक भाडा लिँदै आएको छ।

पठाओ नेपाल प्रालिका प्रबन्ध निर्देशक असिममानसिंह बस्नेतले पठाओले तोकेभन्दा बढी भाडा नलिएको दाबी गरे। पठाओका चालकहरूले तिहारका दिन दोब्बरभन्दा बढी भाडा लिएका थिए। ‘अहिलेसम्म पठाओले यस्तो गरेको छैन र भविष्यमा पनि यस्तो गर्ने छैन,’ बस्नेतको दाबी छ, ‘जनताको सेवाका लागि आएका कम्पनीले त्यस्तो गर्नु हुँदैन भन्नेमा हामी सचेत छौँ। कम्पनी कानुनी रूपमा सञ्चालन भइरहेको उनले बताए।

‘नियमन गर्न सजिलो छैन’

सवारीसाधन नियामक यातायात व्यवस्था विभागका कर्मचारी राइड सेयरिङ कम्पनीलाई कारबाही गर्ने कानुनी आधार नभएको बताउँछन्। साधन उपलब्ध गराउने र त्यो स्थानमा पुग्ने व्यक्तिबीच सहमति भएर चढेको गाडीका विषयमा कसरी कारबाही गर्ने भन्ने तर्क यातायातका कर्मचारीको छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले राइड सेयरिङ कम्पनीबाट भइरहेको ठगीको उजुरी कमैमात्र आउने गरेको बताए। सामाजिक सञ्जालमा आएको ठगीका आधारमा राइड सेयरिङ कम्पनीलाई कारबाही गर्न समस्या रहेको उनको भनाइ छ। पनेरूले भने, ‘अन्य उजुरी आएको छैन। यसबारे सेवाग्राही सचेत हुनुपर्छ।’ सेवाग्राहीले उजुरी गरेर विभागले कम्पनीलाई जानकारी गराएर कानुन कारबाही गर्ने उनले बताए।

‘सर्वसाधारणलाई सहज बनाउन ल्याइएको राइड सेयरिङ कम्पनीबाट ठगिनु गलत हो। यस विषयमा विभागले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउँछ,’ पनेरूले भने, ‘ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ।’

अफलाइनमा पनि ठगी

राइड सेयरिङ कम्पनीमा दर्ता भएका राइडर बाइकले एप्लिकेसनमा आएका रिक्वेस्ट अस्वीकार गर्ने, अफलाइन बस्ने र ग्राहकलाई एप्लिकेसनमा देखाएको भन्दा करिब २/३ गुणा बढी भाडा लिने गरेके गुनासो सेवाग्राहीको छ। कुनै कडाइ नगर्दा राइडरहरूले ठगी गर्ने क्रम बढेको यात्रुहरूको गुनासो छ।

पठाओ नेपालका प्रबन्ध निर्देशक बस्नेतले बढी रकम लिने राइडरको बारेमा १०३ मा फोन गरेर उजुरी दिन आग्रह गरे। उनले भने, ‘अफलाइनका नाममा ठगिए १०३ मा फोन गरेर उजुरी गरे कारबाही हुन्छ।’ इनड्राइभमा ठगिए कहाँ उजुरी गर्ने भन्ने अन्योल छ। दर्ता नभई सञ्चालनमा ल्याउन दिएर यातायातका कर्मचारीले ठगीधन्दालाई बढाइरहेको आरोप सेवाग्राहीको छ।

प्रकाशित: २० कार्तिक २०८१ २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast