सीके राउतको दाबी : पैसाको लोभलालच दिएर पार्टी फुटाउने षडयन्त्र भइरहेको छ

हिमाल प्रेस २० कार्तिक २०८१ २०:०३
24
SHARES
सीके राउतको दाबी : पैसाको लोभलालच दिएर पार्टी फुटाउने षडयन्त्र भइरहेको छ जनमत पार्टीका अध्यक्ष डा. सीके राउत।

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल फोड्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।ठूलो रकम तथा लोभलालच दिएर दल फोड्ने षडयन्त्र भइरहेको राउतले आरोप लगाएका हुन्।

दल विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेका दलहरूले त्यसलाई रोकेर पछिल्लो समय ठूलो रकम, चलखेल गरेर र लोभलालच दिएर पार्टीहरू फोड्ने षडयन्त्र गरिरहेको उनको दाबी छ।

राउतले दलका नेताहरूलाई फोन गरेर रकमको लोभ र पछि समानुपातिक सिटको लालसा दिइन थालिएको बताएका छन्।

‘पछिल्लो समय ठूला दलहरूले साना पार्टीहरू फोड्न अध्यादेश ल्याउनै लागेका थिए, अचानक अन्तिम समयमा रोकियो,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्,‘तर, ठूलो रकम दिएर, चलखेल गरेर, लोभलालच दिएर पार्टी फोड्ने षडयन्त्र जारी नै छ। हाम्रो पार्टीमा पनि केही मानिसलाई ठूलो रकमको लोभ र पछि समानुपातिक सिटको लालसा दिएर पार्टी फुटाउने हाम्रो पार्टीकै सिनियर नेताहरूलाई खटाएको भन्ने जानकारी आएको छ।’

ठूला पद र पैसाको अफर आउनसक्ने भन्दै होसियार भएर बस्न उनले भनेका छन्। राउतले अगाडि लेखेका छन्,‘तपाईँलाई पनि फोन आउनसक्छ, ठूलाठूला पद र पैसाको अफर आउनसक्छ, होसियार भएर बस्नुहोला।’

पार्टी सत्तामा गएपछि देखा परेका र पैसा कमाएका नेताहरूलाई आफ्नो पार्टी फोड्ने अभियानमा परिचालित गरिएको राउतको सचिवालयको भनाइ छ।

‘आन्दोलन हुँदा कतै देखिएनन्, पार्टी सत्तामा गएपछि बल्ल देखा परे र एकाएक पैसा कमाएर धनी बन्ने सपना देख्न थाले,’ उनको सचिवालयले भनेको छ,‘डा.सीके राउतले त्यसमाथि रोक लगाइदिएपछि उहाँलाई तगारो र दुश्मन ठान्न थाले, त्यस्ता नेताहरूलाई खटाएका छन्।’

उनीहरूले जातिवादी नारा उचालेर अथवा लोभलालच दिएर फकाउने प्रयास गर्न सक्ने भन्दै सचेत रहन राउतको सचिवालयले आग्रह गरेको छ।

प्रकाशित: २० कार्तिक २०८१ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast