आधुनिक कृषि प्रणालीले उत्पादन क्षमतामा अभूतपूर्व प्रगति गरे तापनि यसले वातावरणमा ठूलो असर पारेको छ। कृषि उत्पादनलाई बढावा दिन गरिएको उच्च स्तरको मानवीय गतिविधि, जस्तै, जमिनको अत्यधिक प्रयोग, जल तथा माटोको अन्धाधुन्ध दोहन र प्राकृतिक स्रोतहरूको ह्रासले कृषि प्रणालीलाई दीर्घकालीन रुपमा अस्थिर बनाउँदै लगेको छ। सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब पुग्ने अनुमान गरिएको छ, जसका लागि खाद्यान्न सुरक्षामा सुधार ल्याउन तत्काल दिगो कृषि प्रणालीको आवश्यकता देखिएको छ।
कृषि र वातावरणीय प्रभाव
आधुनिक कृषि प्रणालीले माटो, पानी र जैविक विविधतालाई उल्लेखनीय क्षति पुर्याएको छ। कृषि उत्पादनका लागि मानवीय आवश्यकता पूर्ति गर्ने क्रममा ५० प्रतिशत जमिन प्रयोगमा ल्याइएको छ। साथै, कृषिमा विश्वव्यापी रुपमा ७० प्रतिशत ताजा पानीको उपभोग गरिन्छ, जसले पानीको उपलब्धता संकटमा पुर्याएको छ। उदाहरणका लागि एक किलोग्राम गहुँ उत्पादन गर्न एक हजार लिटर पानी चाहिन्छ भने बिफ उत्पादनका लागि ४३ हजार लिटर पानीको आवश्यकता पर्छ।
माटोको क्षति र दीर्घकालीन प्रभाव
माटोको दीर्घकालीन संरक्षण अभावले माटोमा रहेका जैविक तत्त्वहरू क्षय भएका छन्, जसले गर्दा जमिनको उत्पादनशीलता घटिरहेको छ। विश्वका ४० प्रतिशत कृषि योग्य जमिन कुनै न कुनै रूपमा क्षयको अवस्थामा पुगेका छन्, विशेष गरी अफ्रिका र मध्य अमेरिकामा। माटोको जैविक तत्त्वको ह्रासले विश्वव्यापी रूपमा कृषि उत्पादनमा १६ प्रतिशत ह्रास भएको छ।
प्राकृतिक स्रोतहरूको संरक्षण र पुनः उपयोगको आवश्यकता
वातावरणीय संरक्षणका लागि माटो, पानी, र जैविक विविधतालाई संरक्षण गर्नुपर्ने आवश्यकता यो दस्ताबेजमा जोड दिइएको छ। कृषि प्रणालीमा अत्यधिक रूपमा प्रयोग गरिने रासायनिक मल र विषादीहरूले जमिन, पानी, र जैविक विविधतालाई नोक्सान पुर्याइरहेको छ। तथ्यांकअनुसार विश्वका कुल हरितगृह ग्यास उत्सर्जनको १८ प्रतिशत भाग कृषि प्रणालीबाट नै आउँछ।
उर्वरक र विषादीको असर
सन् १९६० र १९९५ बीचमा विश्वव्यापी रूपमा प्रयोग गरिने नाइट्रोजन मलको मात्रा ७ गुणाले बढेको छ, जसले गर्दा जमिनको उर्वरता घट्दै गएको छ। जमिनमा हाल हालसालै भएको अनुसन्धानका अनुसार कुल प्रयोग गरिएको नाइट्रोजनमध्ये १८ प्रतिशतदेखि ४९ प्रतिशतमात्र बालीमा उपयोग हुन्छ, बाँकी जमिन र पानीमा मिसिन जान्छ जसले पर्यावरणीय प्रदूषणको समस्या निम्त्याउँछ।
दिगो कृषि प्रणालीका लागि वैकल्पिक उपायहरू
अत्यधिक उत्पादनका लागि बढ्दो वातावरणीय लागतले कृषि प्रणालीलाई पुनः परीक्षणको आवश्यकता ल्याएको छ। यस समस्याबाट जोगिनका लागि निम्नलिखित वैकल्पिक कृषि प्रणाली अपनाउन सुझाव प्रेरित गरिन्छ :
एग्रोइकोलोजी : एग्रोइकोलोजीले जैविक, सांस्कृतिक, र आर्थिक विभिन्नतामा आधारित प्रणालीको विकास गर्ने लक्ष्य राख्छ। यसले कम स्रोत खर्च गरेर जैविक विविधतालाई सुदृढ बनाउने, माटोको संरक्षण गर्ने र उत्पादनमा सुधार ल्याउन मद्दत पुर्याउँछ।
जैविक खेती : जैविक खेतीले रासायनिक मल र विषादीको सट्टामा जैविक मल, सिपाही किराहरूको नियन्त्रणमा जैविक उपायहरू प्रयोग गर्ने प्रणालीलाई जोड दिन्छ। तथ्यांकअनुसार, स्विट्जरल्यान्ड र इन्डोनेसियाले क्रमशः ६८५ र ६५५ विषादीको प्रयोग घटाउन सफल भएका छन्।
परिशुद्ध कृषि : परिशुद्ध कृषि प्रणालीले बालीमा आवश्यकताभन्दा बढी मल र विषादीको प्रयोग नगरी, अत्याधुनिक प्रविधिको प्रयोगद्वारा उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखेको छ। यसले रासायनिक मलको अत्यधिक प्रयोग घटाउन र वातावरणीय नोक्सानलाई न्यून पार्न मद्दत पुर्याउँछ।
मिनी-लाइभस्टक प्रणाली : मिनी-लाइभस्टक प्रणालीले पशुपालनका सट्टा कम संसाधनमा आधारित साना जनावरहरूको उत्पादनलाई प्राथमिकता दिन्छ। यसले परम्परागत पशुपालन प्रणालीको तुलनामा वातावरणमा पर्ने प्रभावलाई न्यून गर्छ।
खाद्यान्न सुरक्षामा चुनौती
वैश्विक रूपमा खाद्यान्न उत्पादनमा पर्याप्त वृद्धिसँगै अझै पनि विश्वमा खाद्यान्न असुरक्षा रहेको छ। भोकमरीको समस्या उत्पादनको अभावभन्दा बढी पहुँचको असमानतासँग जोडिएको छ। प्रत्येक वर्ष ३०-४० प्रतिशत खाद्यान्न विभिन्न कारणले नष्ट हुन्छ।
पशुपालन प्रणालीको असर
पशुपालन प्रणालीमा अत्यधिक स्रोतको खपत हुन्छ, जसले जमिन, पानी र ऊर्जा स्रोतहरूको दबाब बढाउँछ। उदाहरणका लागि विश्वका कुल जमिनको ३० प्रतिशत पशुपालनमा प्रयोग गरिन्छ। यसले जल प्रदूषण र जैविक विविधतामा गम्भीर असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार एक किलो मासु उत्पादनका लागि औसतमा १५ हजार लिटर पानीको खपत हुन्छ।
मानव स्वास्थ्य र वातावरणमा असर
अमेरिकामा प्रतिवर्ष पशुपालनमा प्रयोग हुने ७० प्रतिशतभन्दा बढी एन्टिबायोटिक्स मानिसको स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गरी प्रयोग हुन्छ। तथ्यांकअनुसार यसका कारण प्रतिवर्ष पाँच हजार मानिसको ज्यान जान्छ। पशुपालन प्रणालीले वातावरणमा पार्ने प्रभाव कम गर्न र यसको स्थानमा अन्य स्वस्थ र दिगो उपायहरू अपनाउनु आवश्यक छ।
भावी सम्भावना र कार्ययोजना
खाद्यान्न उत्पादनमा वृद्धि गर्दै वातावरणीय सन्तुलन कायम गर्नका लागि दिगो कृषि प्रणाली अपनाउनु आजको आवश्यकता हो। विश्वव्यापी रुपमा हरितगृह ग्यासको मात्रा कम गर्न, माटोको जैविक उर्वरता बढाउन र जैविक विविधतालाई कायम राख्न कृषि प्रणालीमा सुधार ल्याउनुपर्छ।
सरकारी नीति र योजनामा दीर्घकालीन दिगो कृषि प्रणालीलाई प्राथमिकता दिएर माटोको उर्वरता, जैविक विविधता र पानीको स्रोतहरूको संरक्षण गर्नु आवश्यक छ। यससँगै कृषि प्रणालीमा जैविक र प्राकृतिक उपायहरूलाई प्रोत्साहन दिन, परम्परागत कृषि प्रविधिहरूको पुनर्स्थापना गर्न र स्थानीय समुदायलाई प्रविधिमा आधारित ज्ञान र सिप प्रदान गर्नुपर्दछ।दिगो कृषि प्रणालीका यी उपायहरूले वर्तमान मात्र होइन भविष्यका लागि पनि खाद्यान्न सुरक्षाको आधार तयार पार्न मद्दत पुर्याउनेछन्