काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारसँग आफ्नै प्रहरी र प्रशासन हुनुपर्नेमा जोड दिएका छन्।
सोमबार महोत्तरीको लोहारपट्टी नगरपालिकामा सहिद शिवचन्द्र मिश्रको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका निधिले संविधानमा प्रस्ट व्यवस्था भए पनि प्रदेशलाई प्रहरी र प्रशासन चलाउने अधिकार दिन संघीय सरकराले ढिलाइ गरिरहेको बताए।
‘संघीयता बलियो बनाउन प्रदेश सरकरालाई अधिकरसम्पन्न बनाउन जरूरी छ। प्रहरी र प्रशासनविना प्रदेश सरकार अधुरो रहने निश्चित छ,’ उनले भने,‘संविधानले व्यवस्था गरे पनि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने गरी कानुन बनाउन संघीय सरकारले ढिलाइ गरेको छ।’
संघीयतालाई सबल बनाउने गरी यथाशीघ्र कानुन बनाउन संघीय सरकरालाई ध्यानाकर्षण गराए। नेता निधिले संघीय प्रणाली अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट राजनीतिक व्यवस्था भएको भन्दै यसलाई असफल बनाउने प्रयास भए आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिए।
‘संघीय व्यवस्था सबैभन्दा उत्तम राजनीतिक व्यवस्था हो,’ उनले भने,‘यो व्यवस्था जोगाउनु हामीसबैको दायित्व हो। संघीयतामाथि खतरा पुर्याउने गरी कुनै गतिविधि भए आन्दोलनका लागि हामी सबै तयार भएर बसौँ।’
निधिले संविधानको अनुसूचिमा भएको व्यवस्थाअनुसार प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी तत्काल कानुन निर्माण प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरे।