
काठमाडौँ- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकी एक युवतीलाई मुम्बई प्रहरीले सोधपुछ गरेर रिहा गरेको छ। ठाणे जिल्लाको उल्हासनगरमा परिवारका साथ बस्दै आएकी आईटी स्नातक फातिमा खानलाई मुख्यमन्त्री आदित्यनाथलाई धम्की दिएको आरोपमा पक्राउ गरिएको थियो।
उनलाई महाराष्ट्रको आतंकवाद नियन्त्रण बल र प्रहरीको संयुक्त अभियानमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन्। मुम्बई प्रहरीका अनुसार फतिमालाई सोधपुछका लागि मुम्बई लगिएको थियो। पढाइमा अब्बल ती युवतीको मानसिक अवस्था अस्थिर रहेको समाचारमा जनाइएको छ।
मुम्बई ट्राफिक पुलिस कन्ट्रोल रुममा शनिबार योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की दिइएको थियो। धम्की दिने ती युवतीले मुख्यमन्त्री योगीलाई १० दिनभित्र राजीनामा नदिए बाबा सिद्दिकीझैँ उनको पनि हत्या गरिने चेतावनी दिएकी थिइन्।
यसअघि २ मार्चमा सुरक्षा मुख्यालयमा खटिएका एक प्रहरी कर्मचारीलाई मुख्यमन्त्री योगी आदित्यनाथलाई बमबाट उडाउन धम्की आएको थियो।