काठमाडौँ- स्पेनिस लालिगमा बार्सिलोनाले अपराजित जित कायम गदैै शीर्षमा उक्लिएको छ।
आइतबार घरेलु मैदानमा भएको खेलमा क्याटलान क्लबले इस्प्यानयोलमाथि ३-१ को जित हासिल गर्दै शीर्ष स्थानमा पुगेको हो। योसँगै बार्सिलोनाले १२ खेलबाट ३३ अंक पुर्याएको छ। जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ९ अंक बढी हो।
बार्सिलोनाको जितमा डानी ओल्मोले दुई गोल गरे। १२औं मिनेटमै लमिन यमलको क्रसमा ओल्मोले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। २३औं मिनेटमा राफिन्हाले उक्त अग्रता दोब्बर बनाए। यसपल्ट मार्क कासाडोको क्रसमा गोल सम्भव भएको हो।
३१औं मिनेटमा ओल्मोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। उनले एलेजान्ड्रो बाल्डेको पासमा गोल गरेका हुन्।
६३औं मिनेटमा जाभी पुएडोले पाहुना टोलीका लागि गोल गरे। त्यसअघि अल्भारो तेजेरो र जोफरे कैरेरसले गोल गरेपनि भिएआरले मान्यता दिएको थिएन।