काठमाडौँ- वैदेशिक रोजगारीमा हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलअगाडि फोटो खिच्न व्यस्त देखिन्छ। कतिपय वैदेशिक रोजगारीमा हिँडेका युवा रुँदै आफन्तसँग फोटो खिच्दै हुन्छन्। दसैँतिहारजस्ता ठूला चाडका बेला देश छाड्दा भने बढी भावुक भइने सम्बद्ध युवा बताउँछन्।
तिहारमा दिदीबहिनीको हातबाट टिका लगाउन छाडेर बाँकेका राजेन्द्र क्षेत्री वैदेशिक रोजगारीमा यूएई उडे। बुधबार साँझ रोजगारीका लागि यूएई हिँडेका क्षेत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तसँग फोटो खिच्न व्यस्त थिए।
नौ वर्ष भारतका विभिन्न स्थानमा काम गरेर गत वैशाख स्वदेश फर्किएका क्षेत्रीले पाँच वर्षयता तिहार मनाउन पाएका छैनन्। आफ्नै देशमा भनेजस्तो रोजगारी नपाएपछि तिहारको मुखमा वैदेशिक रोजगारीमा हिँडेको क्षेत्रीले बताए।
उनले भने, ‘बाहिर बस्ने बानी भएर होला चाडपर्वको खासै मतलब हुँदैन। यस वर्ष तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउने रहर थियो। तर यूएईबाट तिहारमै भिसा आएपछि जानुपरेको छ।’
क्षेत्रीजस्तै नुवाकोटकी कविता घिमिरे पनि तिहारकै बेला वैदेशिक रोजगारीका लागि रोमनिया उडिन्। उनी विमानस्थलमा भाइलाई सम्झाउँदै गरेकी भेटिइन्। उनले भनिन्, ‘बीबीएस सकेपछि आफ्नै देशमा काम पाइन्छ कि भनेर प्रयास गरेँ। काम नपाएपछि रोजगारीका लागि रोमनिया हिँडेकी हुँ।’ नेपालमा पहुँचवालाले मात्र जागिर छिटो पाउने उनको भनाइ छ। उनले भनिन्, ‘सरकारी र निजी दुवै क्षेत्रमा काम पाउन पहुँच चाहिन्छ। हामी जस्तो कोही नहुने जाने त विदेश नै हो।’
धरानका जीवन राई कृषि क्षेत्रको रोजगारीका लागि दक्षिण कोरिया उडेर एक वर्षअघि कोरियन भाषा पास गरेका राई तिहारको मुखमै भिसा आएपछि कोरिया हिँडेको बताउँछन्। दुई बहिनी राईलाई छाड्न विमानस्थल पुगेका थिए।
बहिनीहरुको हातबाट भाइटीका नलगाई बिदेसिनुपर्दा दुःख लागेको राई बताउँछन्। उनले भने, ‘नेपाल त राजनीतिले बिग्रिएको हो। यहाँ राजनीतिभन्दा अरु केही विकास भएन। नेताहरुले विकासभन्दा पनि पैसा कमाउनतिर मात्र लागे।’ राई विज्ञान विषयका शिक्षक थिए। उनी सुनसरीको एक माविमा सरकारी विद्यालयमा राहत कोटामा पढाउँदै थिए।
जीवनकी बहिनी रिया राईले तिहारमा भाइटीका नलगाई दाइलाई बिदा गर्नुपर्दा नराम्रो लागेको बताइन्। उनले भनिन्, ‘दाइ मात्र होइन। हामी पनि केही वर्षपछाडि यसरी नै वैदेशिक रोजगारीमा जाने हो।’
तिहार सुरु भएपछि पनि दैनिक एक हजार ७ भन्दा युवा बिदेश गइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
पर्वका बेला पनि वैदेशिक रोजगारीमा जाने कामदारको निरन्तर बढिरहेको छ। गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ। कात्तिकको दोस्रो सातासम्म २४ हजार नेपाली बिदेसिएका छन्।
चालु आर्थिक वर्षको तीन महिनामा १ लाख ७० हजार ५ सय ९२ जनाले श्रम स्वीकृति लिएर विभिन्न देश गएका छन्। मलेसिया, यूएई, कतार, रोमनिया, पोर्चुगल, पोल्यान्ड, मलेसिया, साउदी अरब, कुवेत, ओमान, साइप्रस, क्रोएसिया र माल्टाजस्ता देश दशैंतिहारको मुखमा हजारौं नेपाली गएको विभागको तथ्यांकमा छ।