एक अर्बको भाइमसला आयात, सबैभन्दा बढी काजु

हिमाल प्रेस १८ कार्तिक २०८१ १७:५०
50
SHARES
एक अर्बको भाइमसला आयात, सबैभन्दा बढी काजु भक्तपुरको सूर्यविनायकमा बिक्रीको लागि राखिएका भाइमसला। तस्बिर : रासस

काठमाडौँ– तिहारका लागि एक अर्ब रुपैयाँभन्दा बढीको भाइ मसला भित्रिएको छ। नरिवल, बदाम, ओखर, पेस्ता, छोकडा, अञ्जिर, ल्वाङ, दालचिनी, काजुलगायतका मसला तिहारमा बढी खपत हुन्छ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा एक अर्ब दुई करोड १७ लाख ६३ हजार रुपैयाँ बराबरका मसला आयात भएको हो। तिहारमा खपत हुने भाइमसला यिनै हुन्। सबैभन्दा बढी २५ करोडको काजु आयात भएको छ। त्यसपछि ओखर, बदाम, ल्वाङ र नरिवल छन्।

१४ करोड ३७ लाखको नरिवल, १७ करोड ५४ लाखको बदाम, २० करोड ६६ लाखको ओखर, एक करोड ३७ लाखको पेस्ता, एक करोड १९ लाखको छोकडा, दुई करोड ५० लाखको अञ्जिर, १६ करोड ४५ लाखको ल्वाङ, दुई करोड ४२ लाखेका दालचिनी र २५ करोड ६४ लाखको काजु भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य भाइमसलामा ओखर, बदाम, नरिवल, किसमिस र काजुको व्यापार बढी भएको बताउँछन्। उनले भने, ‘भाइमसला खरिद गरेर घरमै आकर्षक प्याकेजिङ गर्ने पनि छन्। पछिल्लो समय भाइमसलामा अरू खानेकुरा पनि थपेर प्याकेजिङ गर्न थालिएको छ।’

काठमाडौँको बजारमा  काजुको मूल्य प्रतिकिलो साढे १५ सय, ठूलो बदाम १२ सय रुपैयाँ, पेस्ता २१ सय, ओखर ५ सय ५० रुपैयाँ, नरिवल ५ सय, किसमिस ५ सय ५०, अन्जिर २२ सय, छोकडा ५ सय ५० रुपैयाँमा व्यापार भइरहेको छ।

तिहारमा ड्राइफ्रुटको व्यापार फूलको भन्दा बढी हुने गरेको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ। संघका अनुसार तिहारमा सामान्य समयमा भन्दा ड्राइफ्रुटको माग ३५-४० प्रतिशत बढी हुने गरेको छ। काजु, छोकडा, किसमिस, बदाम, पेस्ताजस्ता ड्राइफ्रुटको माग बढी हुने गरेको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए।

काजु, बदाम, किसमिस, पेस्ता, नरिवलजस्ता ड्राइफ्रुटलाई तिहारमा दिदीबहिनीले भाइमसलाका रुपमा प्रयोग गर्न थालेपछि यसको माग बढ्न थालेको उनले बताए। उनले भने, ‘बाह्रै महिना ड्राइफ्रुट खानेको संख्या बढ्दै गएपछि आयात पनि हरेक वर्ष बढ्दो छ।’

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको अवधिमा ४ अर्ब ३९ करोड ८८ लाख ७९ हजार रुपैयाँबराबरका काजु आयात भएको छ। साथै काजुसँगै बदाम, पेस्ता, नरिवल, ओखरजस्ता ड्राइफ्रुट बर्सेनि दुई अर्बभन्दा बढीको आयात भएको विभागले जनाएको छ।

इन्द्रचोकमा खुद्रा व्यापारी निर सिंह तिहारमा भाइमसलासँगै पूजासामग्री र ड्राइफ्रुटको प्याकेजिङ गरेर व्यापार रेको बताए। उनले भाइमसला र ड्राइफ्रुटको प्याकेजिङ दुवै राखेर व्यापार भएको जानकारी दिए। उनका अनुसार तिहारमा भाइमसला र ड्राइफ्रुट दुवैको माग हुने गरेको छ। ‘तिहारमा खुद्रा काजु, किसमिस, नरिवल, बदामलगायत परिकार धेरै बिक्री हुन्छ। साथै यसमा ड्राइफ्रटको प्याकेजिङ पनि माग हुन्छ’, उनले भने।

काजु, किसमिस, छकडा, ओखरलगायत सामग्री सधैँ बिक्री भइरहन्छ। तिहारको सबैं मसला हालेर प्याकेटमा बिक्री गर्नु र ड्राइफ्रुटको प्याकेजिङ गरे बिक्री गर्नु उस्तैउस्तै भएको उनको भनाइ छ।

प्रकाशित: १८ कार्तिक २०८१ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast