काठमाडौँ- बंगलादेशमा हिन्दु धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा दर्ता गरिएपछि अल्पसंख्यक हिन्दु समुदाय आक्रोशित भएका छन्। २५ अक्टोबरमा चटगाउँको न्यु मार्केट चौराहामा विरोध प्रदर्शन गरेका चिन्मय कृष्णदास ब्रह्मचारीमाथि ‘देशको सार्वभौमिकता कमजोर बनाउने र अशान्ति सिर्जना गर्ने’ आरोपमा मुद्दा दर्ता गरिएको हो।
ब्रह्मचारी र अन्य केही व्यक्तिहरूमाथि देशद्रोहको मुद्दा दर्ता भएपछि बंगलादेशको अल्पसंख्यक हिन्दु समुदायमा आक्रोश फैलिएको बंगलादेशी अनलाइन समाचार संस्था बीडीन्युजले उल्लेख गरेको छ।
ब्रह्मचारीमाथि मुद्दा लगाइएको विरोधमा दसाैँ हजार अल्पसंख्यक हिन्दुहरूले शुक्रबार प्रदर्शन गरेका छन्। उनीहरूले हिन्दु समुदायका नेताहरूविरुद्ध दर्ता गरिएको देशद्रोहको मुद्दा फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका छहु्। हिन्दुहरूले चटगाउँको एक प्रमुख चोकमा अधिकारको माग गर्दै नाराबाजी गर्दै प्रदर्शन गरेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ। देशका अन्य स्थानहरूमा पनि अन्य प्रदर्शनहरूको खबर प्राप्त भएको छ।
ब्रह्मचारीले हिन्दु समुदायका अन्य सदस्यसँग मिलेर चटगाउँको न्यु मार्केट चौराहामा प्रदर्शन गरेका थिए। ३० अक्टोबरमा कोतवाली प्रहरीले उनलाई विभिन्न दण्डसंहिताका धाराअन्तर्गत मुद्दा दर्ता गरेको थियो।
चटगाउँ मेट्रोपोलिटन प्रहरी अधिकारी काजी मोहम्मद तारेक अजिजका अनुसार यस मुद्दासँग सम्बन्धित राजेश चौधरी र हृदयदास नामका दुईजनालाई पहिल्यै पक्राउ गरिसकिएको समाचारमा जनाइएको छ।
बंगलादेश सनातन जागरण मञ्चका नेता ब्रह्मचारी ५ अगस्टमा सेख हसिनाको नेतृत्वमा रहेको सरकार पतन भएपछि हिन्दुमाथि लक्षित आक्रमणको विरोधमा भएका प्रदर्शनहरूमा अग्रणी भूमिकामा देखिँदै आएका छन्। हसिनाको पतनपछि अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनसले गरेका छन्।
२५ अक्टोबरमा चटगाउँमा आयोजित हिन्दुहरूको एक सभामा ब्रह्मचारीले भनेका थिए, ‘कसैले हामीलाई यो देशबाट निकालेर शान्तिसँग बस्न चाहन्छ भने यो देश अफगानिस्तान वा सिरियाजस्तै बन्छ। यहाँ कुनै लोकतान्त्रिक शक्ति रहनेछैन र बंगलादेश साम्प्रदायिकतामा फस्नेछ।’
आन्दोलनपछि सेख हसिना पद छाडेर भारत भाग्न बाध्य हुनुपरेको थियो। त्यसपछि न्यु मार्केट स्क्वायरमा एउटा खम्बामा राष्ट्रिय झण्डा फहराइएको थियो।
आरोपपत्रमा ब्रह्मचारी र अन्य व्यक्तिहरूमाथि राष्ट्रिय झण्डाको अपमान गरी देशद्रोह गरेको आरोप लगाइएको समाचारमा उल्लेख छ। राष्ट्रिय झण्डाको माथि धार्मिक झण्डा फहराएर राज्यलाई अस्थिर बनाउन खोजिएको आरोप ब्रह्मचारीमाथि छ।
बंगलादेशी पत्रकार अविजित मजुमदार हृदयले फेसबुक पोस्टमा लेखेका छन्, ‘बंगलादेशमा सनातनहरूको के हुनेछ? चटगाउँको लालदिघी मैदानमा करिब दुई लाख हिन्दु आफ्ना अधिकार माग गर्न जम्मा भएका थिए। हामी हाम्रो अधिकार माग गर्न त्यहाँ गएका थियौँ, तर हाम्रो विरुद्धमा मुद्दा दर्ता गरियो।’
बंगलादेशमा विभिन्न मानवअधिकारका नेताहरूले ब्रह्मचारीविरुद्धको प्रहरीले गरेको कारबाहीको विरोध गरेका छन्। हिन्दुहरूलाई उनीहरूमाथि उत्पीडनबारे बोल्न नदिन यस्तो प्रयास गरिएको उनीहरूको आरोप छ। बंगलादेशी हिन्दु अधिकार कार्यकर्ता जयन्त करमाकरले भनेका छन्, ‘ब्रह्मचारीमाथि मुद्दा लगाउनु असह्य छ।’
ब्रह्मचारीले बंगलादेश सनातन जागरण मञ्चका तर्फबाट आठसूत्रीय माग राखेका छन्। अल्पसंख्यक उत्पीडनका घटनाहरूमा चाँडो सुनुवाइका लागि विशेष न्यायाधिकरणको स्थापना हुनुपर्ने, पीडितहरूका लागि पुनर्वास सुनिश्चित गर्नुपर्ने तथा अल्पसंख्यकहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्नका लागि अल्पसंख्यक संरक्षण कानुन बनाउनुपर्ने उनको माग छ। यसैगरी सम्पत्तिहरूको पुनःप्राप्ति र संरक्षणका लागि अन्य कानुन बनाउनुपर्ने तथा अल्पसंख्यक समूहहरूको विशेष आवश्यकता र मुद्दा सम्बोधन गर्नका लागि अल्पसंख्यक मामिला मन्त्रालय गठन गर्नुपर्ने माग उनले अघि सारेका छन्।
१२ सेप्टेम्बरमा बंगलादेशको प्रमुख समाचार पत्रिका प्रोथोम अलोले हसिना सरकारको पतनपछि बंगलादेशमा अल्पसंख्यकहरूमा भएका आक्रमणहरूको खोजी रिपोर्ट प्रकाशित गरेको थियो। रिपोर्टमा भनिएको छ, ‘पूरा देश ९६४ जिल्लाहरू र ६७ उपजिलाहरू०मा प्रोथोम अलोका संवाददाताहरूले गरेको अनुसन्धानका अनुसार ४९ जिल्लामा अल्पसंख्यक समुदायमाथि आक्रमण भएका छन्।’
ब्रह्मचारीले सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै भनेका छन्, बंगलादेशमा सनातनी आन्दोलनलाई पृष्ठभूमिबाट हटाउने दुर्भावनापूर्ण प्रयास भइरहेको छ। उनले बंगलादेशका हिन्दुहरूलाई आफ्नो अधिकार र सम्मानको लागि आन्दोलन जारी राख्न आग्रह गरेका छन्।
हिन्दु समर्थकहरूका अनुसार पूर्वप्रधानमन्त्री सेख हसिनाको धर्मनिरपेक्ष सरकारको पतनपछि र हसिनाले देश छोडेपछि हिन्दुमाथि हजारौँ आक्रमण भएका छन्। गलादेशको लगभग १७ करोड जनसंख्यामा हिन्दुहरू ८ प्रतिशत र मुसलमानहरूको संख्या ९१ प्रतिशत छ।
देशको प्रभावशाली अल्पसंख्यक समूह बंगलादेश हिन्दु बौद्ध क्रिस्चियन एकता परिषद्ले अन्तरिम सरकारले व्यवस्था पुनःस्थापित गर्न संघर्ष गरिरहँदा हिन्दुहरूमाथि २,००० भन्दा बढी आक्रमण भएको जनाएको छ।