सजिलो छैन कमलालाई, ढुक्क देखिँदैनन् ट्रम्प

चन्द्रशेखर अधिकारी १७ कार्तिक २०८१ १४:१३
290
SHARES
सजिलो छैन कमलालाई, ढुक्क देखिँदैनन् ट्रम्प

काठमाडौँ- अमेरिकीहरूले पहिलो महिला राष्ट्रपति चुन्छन् कि डोनाल्ड ट्रम्पलाई चार वर्षपछि सत्तामा फर्काउँछन् भन्नेमा विश्वभर बहस र चर्चा भइरहेको छ। विश्व शक्ति मुलुकको ६० औँ राष्ट्रपतिका लागि दलबाट अनुमोदित भएर आएका ट्रम्प रिपब्लिकन हुन् भने वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक उम्मेदवार हुन्।

निर्वाचनको सुरुमा सन् २०२० मा जस्तै जो बाइडन र डोनल्ड ट्रम्प उम्मेदवार थिए। बहस सुरु भएको पाँच हप्तापछि अर्थात् गत जुलाईमा बाइडनले आफू उम्मेदवार बन नसक्ने भन्दै उपराष्ट्रपति कमलालाई अगाडि सारेका हुन्। अमेरिकी राजनीतिक प्रणालीमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीको वर्चस्व छ। दुईमध्ये एक पार्टीका उम्मेदवार राष्ट्रपति निर्वाचित हुँदै आएका छन्। राष्ट्रपति र उपराष्ट्रपति चार वर्षका लागि निर्वाचित हुन्छन्।

रिपब्लिकनहरू अमेरिकाका परम्परावादी राजनीतिक शक्ति हुन् भने डेमोक्र्याटसहरू आफूलाई उदारवादी भन्छन्। त्यहाँ अन्य साना र राज्य स्तरका दल पनि छन्। नोभेम्बर ५ (कात्तिक २०) मा हुने निर्वाचनमा अमेरिकाले ६०औँ राष्ट्रपति पाउनेछ। यसपटक पनि महिला राष्ट्रपति नपाए अमेरिका अझै महिलाप्रति बढी उदार हुन नसकेको सन्देश फेरि एकपटक विश्वभर फैलनेछ।

डेमोक्रेटिक सदस्य एवं वर्तमान राष्ट्रपति बाइडनले सुरुमा राष्ट्रपतीय निर्वाचनको दौडमा उम्मेदवारीको प्रक्रिया अघि बढाए पनि जुन २०२४ को राष्ट्रपतीय बहसमा खराब प्रदर्शन, बढ्दो उमेर र स्वास्थ्य चिन्ताका कारण नाम फिर्ता लिएका थिए। कमलाले सुरुवातीभन्दा केही पछिबाट आफ्नो अभियान थाले पनि उनका पक्षमा पूर्वराष्ट्रपति बाराक ओबामाले लबिइङ गर्दै लोकप्रिय बनाउने काम गरेका छन्। हुन त पहिले बाइडनको समयमा पनि ओबामा अघि बढेर प्रचारप्रसार गरेका थिए। उनले हिलारी क्लिन्टनलाई पनि साथ दिएका थिए।

कमलाले बाइडन समर्थन र पार्टीको निर्णयलगत्तै आफ्नो राष्ट्रपतीय अभियान सुरु गरेकी थिइन्। त्यसपछि कैयौँ बहसमा अघि भए पनि उनी ट्रम्पसँगको बहसमा कतिपय स्थानमा चुकेकी छन्। स्वास्थ्य बिमा, करको दायरा, नागरिकलाई दिइने भत्ता, आप्रवासनलगायतको बहसमा उनी कमजोर देखिएकी हुन्। एक पटक राष्ट्रपति भइसकेका र अघिल्लो निर्वाचनमा पनि उमेदवारी दिएर जित नजिक पुगेका ट्रम्प अहिले पनि कमजोर उम्मेदवार होइनन्। त्यसैले कन्जरभेटिभ अमेरिकीहरूको बाहुल्यका कारण कमलालाई सहज छैन। विश्वकै धनी अमेरिकीहरूको समर्थननि ट्रम्पलाई छ।

अहिलेको बहस भनेको अमेरिकाले पहिलो महिला राष्ट्रप्रमुख पाउँछ कि ट्रम्प सत्तामा फर्किएर फेरि विश्व उथलपुथलमा सहभागी हुन्छन् भन्ने हो। अमेरिका विश्व राजनीतिमा चनाखो देखिएन भने विश्व पुनः युद्धमा होमिनेछ। त्यसैले अमेरिकी राष्ट्रपति निर्वाचनलाई विश्वले चासोका साथ हेरेको छ। मतदानको दिन नजिकिँदै गर्दा कमलाले झिनो मतले जित्ने लक्षण सर्वेक्षणहरूले देखाएका छन्। कसले जित्छ भन्ने यकिन हुन निर्वाचन परिणाम नै पर्खनुपर्नेछ।

अमेरिकाको निर्वाचनको फाइदा इजरायल र अरब मुलुकको युद्धलाई भइरहेको छ। अमेरिका यतिबेला इजरायल युद्धको विषयमा खुलेर बोल्न समेत सकेको छैन। मत भड्कन सक्ने र अमेरिकी नीतिमा दोधारे देखिएको हुन सक्ने भएर सत्तामा भएका र बाहिर भएका दुवैले युद्धका विषयमा स्पष्ट धारणा बाहिर ल्याएका छैनन्। त्यसको प्रभाव राष्ट्रसंघमा समेत परेको छ। जसले गर्दा इजरायल र अरब मुलुकबीच द्वन्द्व बढ्दै गएको देखिन्छ।

कमलाले सर्वेक्षणमा आफ्नो अग्रता कायम राख्दै आएकी कारण पनि कतै अमेरिकाले पहिलो महिला राष्ट्रपति त पाउने होइन भन्ने चर्चा पनि छ। तर कतिपय बहसकर्ताले निर्णयक घडी र अहिलेको वि

श्वमा ट्रम्प जस्तो बोल्डनेस मानिस आवश्यक भएको बताइरहेका छन्। कैयौँ प्रचारकले ट्रम्प र परम्परागत पार्टी आवश्यक रहेकोमा जोड दिएको देखिन्छ।

केही दिनदेखिको बहस नियाल्दा कमलाले निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ। झिनो मतले जसले पनि ज्रित्न सक्ने आकलन अमेरिकी विज्ञहरूको छ। अमेरिकामा यस्तो बहस र सर्वेक्षण मेहनतका साथ गराइने हुनाले त्यसको महत्त्व रहँदै आएको छ। यद्यपि कैयौँ पटक यस्ता सर्वेझण र बहसले हावा खाएका छन्।

आफूले बोलेको विषयमा अडिग रहने ट्रम्पले बाजी मार्न पनि सक्ने सम्भावना पनि प्रबल छ। सीमामा पर्खाल लगाउने, आन्तरिक आम्दानी बढाउने र अमेरिका पहिलो भन्ने नारा लगाउँदै विश्व हल्लाउने उनको दाउ झन् बलियो भएर आइरहेको छ। यसअघि हिलारी र ट्रम्प प्रतिस्पर्धामा उत्रिँदा हिलारी निर्वाचित हुन्छन् भनेर अनुमान गर्ने धेरै थिए। तर बाजी ट्रम्पले मारेका थिए।

निर्णायक बन्ने सात राज्य

बहस र सर्वेक्षणले केही झल्को दिने भए पनि यसले प्रभाव पार्नु स्वाभाविकै हो। निर्वाचनमा सात राज्यमा दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ। मत सर्वेक्षणहरूमा ती राज्यमा कुनै पनि उम्मेदवारले स्पष्ट र निर्णायक अग्रता कायम गरेको देखिँदैन।अगस्टदेखि जोर्जिया, एरिजोना, नोर्थ क्यारलाइना, नाभाडामा एकैखाले उम्मेदवारको अग्रता छैन। ती चार राज्यमा केही सातादेखि ट्रम्प झिनो मतले अगाडि देखिएका छन्। पेन्सलभेनियामा पनि ट्रम्प अगाडि छन्। यसले गर्दा ट्रम्प निर्वाचन नजिकिँदै गर्दा अलिक अघि देखिएका हुन् कि?

मिसिगन र विस्कन्सिनमा अगस्टदेखि कमला अगाडि छिन्। कहिलेकाहीँ उनी ट्रम्पभन्दा दुई वा तीन प्रतिशतले अगाडि भइन्। तर केही दिनदेखि प्रतिस्पर्धा बढेकोले यसै भन्न सक्ने अवस्था छैन। सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि मिसिगन, पेन्सलभेनिया र विस्कन्सिनलाई डेमोक्रेटिकको गढ मानिन्थ्यो। २०१६ मा विपरीत नतिजा आयो। सन् २० मा बाइडनले ती राज्यमा आफ्नो पार्टीको प्रभाव पुनः स्थापित गरेका हुन। जसले गर्दा यसपटक ती राज्य कमलातिर आउन सक्छन् भन्ने आशा सबैमा छ।

यसपालि कमलाले ती राज्यहरूलाई आफ्नो पक्षमा पार्न सकिन् भने उनलाई पहिलो महिला राष्ट्रपति हुन कसैले रोक्न सक्दैन। तर ती राज्यमा मत तलमाथि भयो भने मत परिणाम उनको पक्षमा आउँदैन। बाइडन उम्मेदवार नबन्ने घोषणा गर्नुअघि यी सात ‘स्विङ स्टेट’ मा आफ्ना प्रतिस्पर्धी ट्रम्पभन्दा औसतमा पाँच प्रतिशतले पछाडि रहेको सर्वेक्षणहरूले देखाएको थिए। कमला उम्मेदवार बनेपछि त्यसमा केही राहत भएको थियो। अर्थात् डेमोक्रेटका पक्षमा लबिइङ भएको देखिन्छ। यी राज्यमा निर्वाचन जित्ने उम्मेदवारलाई परिणाम आफ्नो पक्षमा पार्न आवश्यक २७० मतभार पुर्‍याउन सहज हुने देखिन्छ।

ह्वाइट हाउसको चाबी राख्ने राज्य

अमेरिकी निर्वाचनमा निर्णायक राज्य भनेका मिसिगन, जोर्जिया, नाभाडा, नर्थ क्यारोलिना, पेन्सलभेनिया, एरिजोना र विस्कन्सिन हुन्। अफ्रिकन-अमेरिकन मूलका एकतिहाई जनसंख्या रहेको जोर्जिया अश्वेत बासिन्दाको देशकै ठूलो अनुपात रहेकाले यो डेमोक्रेटिकमा मत उल्ट्याउने राज्यमा पर्छ। बाइडनले २०२० मा निर्वाचि हुँदा यो राज्यको भूमिका ठूलो थियो बाइडनलाई जिताए पनि अमेरिकाका अश्वेत बासिन्दा उनीप्रति निराश हुँदै आएका छन्।

यस्तो अवस्थामा कमलाले समेत यस क्षेत्रमा स्थिति सम्हाल्न सकिने भन्दै आफ्ना समर्थकलाई परिचालन गरेकी छन्। तर यहाँ ट्रम्पको चाहना बढी बुझियो। मिसिगन, जोर्जिया, नाभाडा, नर्थ क्यारोलिना, पेन्सलभेनिया, एरिजोना र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन्।

बाइडनले एरिजोनाबाट राष्ट्रपतिमा चुनाव जिते। यस राज्यले उक्त पार्टीको उम्मेदवारलाई सन् १९९० को चुनावपछि पहिलो पटक थोरै मतान्तरले जिताएको थियो। अन्यथा त्यसलाई रिपब्लिकले पनि उपयोग गरेर अघि बढेको देखिन्छ। यो राज्यको मेक्सिकोसँग सयौँ माइल सीमा जोडिएको छ। त्यसैले यो आप्रवासनसम्बन्धी राष्ट्रिय बहस भइरहने राज्यमा पर्छ।

पछिल्लो समय अमेरिकामा सीमा पार गर्ने घटनाका कारण पनि ठूलो गिरावट देखिएको छ। यो विषय मतदाताको चासोमा छ। त्यसैले यसमा जोड दिने पार्टी अब्बल हुन्छन्। सीमा समस्या हल गर्ने प्रयत्नका निम्ति राष्ट्रपति जो बाइडनद्वारा एउटा भूमिका दिइएकी कमलालाई ट्रम्पले यस विषयमा आक्रमण गर्न सक्नेछन्। आप्रवासका लागि ठूलो डिपोर्टेसन केन्द्र बनाउने भनेर पनि ट्रम्पले त्यहाँ आफूलाई परिचालित गरेका छन्। ट्रम्पले आप्रवासीलाई घर फर्काउने अभियान सुरु गर्ने भन्दै आएका छन्।

जोर्जियामा ट्रम्पविरुद्ध मुद्दा पनि छन्। निर्वाचनमा हस्तक्षेप गरेको भनेर उनीविरुद्ध लागेको चार मुद्दामा एउटा जोर्जियामा छ। औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्रेटिक उम्मेदवार कमला वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको विश्लेषकहरूको भनाइ छ।

निर्वाचन अमेरिकामा हुँदैछ। बहस भने हरेक मुलुकको राजधानीमा भइरहेका छन्। धेरैको चासो छ, ट्रम्पले जिते युद्ध कता जाने हो? चीनसँगको अमेरिकी सम्बन्ध कस्तो होला? जलवायु परिवर्तनको विषय कसरी अघि बढ्छ? राष्ट्रसंघको अवस्था के हुन्छ? इत्यादि।

मिसिगनका नागरिकले बाइडनले मध्यपूर्वसम्बन्धी लिएको नीतिलाई आलोचना गरिरहेका छन्। २०२० मा बाइडनलाई समर्थन गरेको भए मिसिगन अहिले गाजा युद्धमा बाइडनले इजरायल युद्ध नीतिमा लिएकोमा विरोध गर्दै आएको राज्य हो। यसमा भर नपरेपछि इजरायललाई दिएको सहयोगबारे देशभर फैलिएको असन्तुष्टिले ट्रम्पलाई यहाँ पनि फाइदा हुन सक्न्छ।

फेब्रुअरीमा मिसिगनमा भएको डेमोक्रेटिक पार्टीको प्रतिशपर्धामा पछाडि रहेको हुनाले यसमा पनि समस्या हुन सक्ने आकलन विज्ञहरूको छ। उल्लेख्य कुरा के हो भने देशकै ठूलो अरब-अमेरिकनहरूको हिस्सा मिसिगनमा बसोबास गर्ने हुनाले ट्रम्पप्रति जाने सम्भावना रहँदा केही दिनयता कमलाप्रति देखिन थालेको छ।

नाभाडाले डेमोक्रेटिकलाई मत दिँदै आएको थियो तर कोभिडपछिको सुधार यस राज्यमा अन्तभन्दा सुस्त रहँदा यहाँका नागरिक रिपब्लिकनतर्फ जान सक्ने लक्षण देखाइरहेको छ। नाभाडामा बेरोजगारीको अवस्था पनि उस्तै छ। ट्रम्पले आफू शक्तिमा आए कर तथा नियमन घटाउने कार्यसूचीमा फर्कने प्रतिबद्धता जनाएका छ्न्।

नोर्थ क्यारलाइना राज्यमा डेमोक्रेटिक पार्टीका तर्फबाट कमला उम्मेदवार भएयता दुई उम्मेदवारबीचको दूरी निकै झिनो बनेको छ। केही विश्लेषकहरूले यहाँ दुवै उम्मेदवारको जितको सम्भावना बराबरी रहेको भनिरहेका छन्।

पेन्सिल्भेनियाको एक कार्यक्रममा ज्यान लिन गरिएको आक्रमणबाट बाँचेका व्यक्ति हुन् ट्रम्प। सन् २०२० मा बाइडनलाई समर्थन गरेको यो राज्यले डेमोक्रेटिक बस्ती भएको राज्यको भाष्य तय गरेको थियो। यहाँ महँगी अन्तभन्दा बढिरहेको छ।

विस्कन्सिनमा रिपब्लिकन अगाडि छ। त्यहाँ राज्यस्तरमा पहिलेकै उम्मेदवार मैदानमा छन्। जानकारहरूका अनुसार प्रमुख पार्टीका उम्मेदवारका नीतिहरूविरुद्ध अभियान चलाइरहेका तेस्रो पक्षका उम्मेदवारहरूले विस्कन्सिनजस्ता सीमान्त राज्यहरूमा प्रभाव पार्न पनि सक्ने हुनाले कमलाले जित्न सक्ने आधारका रुपमा मापन गरिएको छ।

कति सिटमा हुन्छ चुनाव?

राष्ट्रपतीय निर्वाचनमा करिब २४ करोड अमेरिकीहरूले मतदान गर्न सक्छन्। निर्वाचक मण्डलमा ५ सय ३८ सदस्यहरू हुन्छन्। कहिले काही दुवै पार्टीको बराबर मत पनि हुनसक्छ। यस्तो अवस्थामा तल्लो सदनले राष्ट्रपति चयन गर्नेछ। यसमा जित हासिल गर्न २ सय ७० इलेकट्रोरल कलेज मत आवश्यक पर्छ। अमेरिकामा ‘इलेक्टोरल कलेज’ भनिने ‘निर्वाचक मण्डल’ मा आधारित प्रणालीले निर्वाचनको परिणामको छिनोफानो गर्ने हुनाले यतिकै आकलन गर्न पनि सहज छैन।

अमेरिकी राज्यहरूलाई त्यहाँको जनसंख्याका आधारमा निश्चित संख्या मतभार अर्थात् ‘इलेक्टोरल कलेज मत’ र सिट तय गरिएको हुन्छ। देशभरिका सबै राज्यसँग कुल ५ सय ३८ इलेक्टोरल कलेज मत हुन्छन्। निर्वाचन जित्न २ सय ७० इलेक्टोरल कलेज मत पाउनैपर्छ। अमेरिकी निर्वाचनमा बुझ्नुपर्ने कुरा के छ भने सर्वसाधारणले मत राज्यस्तरीय प्रतिस्पर्धालाई दिन्छन्। दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ।

अधिकांश राज्यले प्रत्येक निर्वाचनमा एकै पार्टीलाई मत दिन्छन्। केही राज्यमा मात्र दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ। ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिन्छन्। दुवै चुनिनेलाई ‘ब्याटलग्राउन्ड स्टेट’ र एक दलका उमेदवारमात्र रहने अवस्थालाई ‘ स्विङ स्टेट’ भन्ने गरिन्छ। सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन्, राष्ट्रिय स्तरमा दिँदैनन्। त्यही राज्यको तहबाट राष्ट्रिय सतरमा तय हुने हो। तर लोकप्रिय मतका लागि भने व्यक्तिगत भोटको चय हुन्छ।

यस्तो निर्वाचन प्रणाली किन?

अमेरिका स्वतन्त्र भएपछि संविधान बनाइँदै गर्दा सन् १७८७ मा राष्ट्रिय ‘पपुलर भोट’ बाट राष्ट्रपति निर्वाचित गर्नका लागि देशको भौगोलिक अवस्था र सञ्चारको कठिनाइका कारण त्यति सहज थिएन। त्यो सहजलाई व्यावहारिक रूपमा सम्भव बनाउन यही तरिका अपनाउनुपर्ने थियो। अमेरिकीहरू त्यही प्रक्रियामा अघि बढे। जुन अहिले विश्वको सबैभन्दा लोकप्रिय प्रक्रियाका रूपमा विकसित भएको छ।

अमेरिकी राजधानी वासिङ्टन डीसीमा राष्ट्रपति चयन गर्न त्यहाँ आउने सांसदलाई अनुमति दिने विषयमा पनि थोरै उत्साह बन्यो। संविधान निर्माताहरूले प्रत्येक राज्यले इलेक्टर छान्न पाउने गरी इलेक्टोरल कलेज बनाए। यसो गर्दा सबैलाई सहज हुने देखियो। छानिएर आएकाको मतभार कति भन्ने भएपछि त्यस आधारमा राष्ट्रपति चुनिने प्रावधान बनाइयो। बराबर भएमा तत्लो हाउसले चयन गर्ने नीति छ।

राज्यको जनसंख्याका आधारमा इलेक्टोरल मतहरूको संख्या तय हुने हुँदा राष्ट्रपति निर्वाचित गर्नका लागि दक्षिणी राज्यहरूको बढी महत्त्व र प्रभावकारी रहँदै आएका हुन। यस्तो मतमा के हुन्छ भने यदि कुनै दलले ५० दशमलव एक मत ल्याए पनि त्यहाँको सबै इलेक्टोरल मत त्यही बहुमत ल्याएको पार्टीमा जानेछ। मानौँ ५५ सिट रहेको क्यालिफोर्नियामा डेमोक्रेटिक उम्मेदवारले ५० दशमलव १ भोट ल्याए पनि त्यहाँको ५५ भोट डेमोक्रेटिक पक्षमा दर्ज हुन्छन्।

इलेक्टोरल कलेज के हो?

अमेरिकामा राष्ट्रपति निर्वाचित हुन् सर्वाधिक मत ल्याएर मात्र पुग्दैन। मतदाताको प्रत्यक्ष मतबाट नभई ‘इलेक्टोरल कलेज’ भनिने निर्वाचक मण्डलले राष्ट्रपति चयन हुन्छन्। त्यहाँ राज्यहरूलाई मतभार दिइन्छ र त्यसबाट आउने विजेताले दिने मतको तय हुन्छ। धेरै सर्वसाधारण मतदाताको समर्थन पाउने उम्मेदवार पनि निर्वाचनमा पराजित हुने हुनाले आफ्नो राज्यमा मत दिने बेलैमा सचेत हुन्छन्।

कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो। अमेरिकामा ५० राज्य छन्। ती राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल संख्या ५३८ छ।

इलेक्टोरल कलेजको भेला प्रत्येक चार वर्षमा हुने निर्वाचन सकिएपछि केही सातामा आयोजना हुन्छ। त्यही भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्छ।

कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्। उनीसँगै उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेको व्यक्ति स्वतः निर्वाचित हुन्छन्। निर्वाचनमा कलेज शब्दले राज्यका तर्फबाट मत दिने निर्वाचकहरूको समूहलाई बुझाउँछ। अमेरिकामा ती व्यक्तिलाई ‘इलेक्टर’ भनिन्छ।

इलेक्टोरल मत भूगोल र जनसंख्याका आधारमा तय हुन्छ। क्यालिफोर्निया राज्यसँग सर्वाधिक ५५ इलेक्टोरल मत छ। कम जनसंख भएका वाइओमिङ, अलास्का, नोर्थ डकोटा र वासिंटन डीसीसँग न्यूनतम तीन-तीन मत छ।

निर्वाचनले राष्ट्रपति मात्र चुन्ने होइन

निर्वाचनको चर्चामा राष्ट्रपति ट्रम्प र कमला देखिए पनि मतदाताहरूले कंग्रेस भनिने अमेरिकी संसद्को सदस्यका लागि समेत मतदान गर्छन्। तल्लो सदन ‘हाउस अफ रिप्रिजेटेन्टिभ्स’ मा डेमोक्रेटिकहरूको पहिले नै बहुमत छ। तिनीहरू त्यस्तो बहुमत कायमै राखेर माथिल्लो सदन ‘सिनेट’ मा आफ्नो प्रभुत्व कायम राख्न चाहन्छन्।

कमला राष्ट्रपति भइन् भने आफ्नो नीति पारित गराउन सहज हुन्छ। ट्रम्प निर्वाचित भएमा उनका योजनालाई ढिलो पारिदिने वा रोक्ने कार्य समेत संसद्ले गर्न सक्छ। हुन पनि यस वर्ष हाउसमा सबै ४ सय ३५ स्थानका लागि निर्वाचन हुँदैछ भने सिनेटको ३३ स्थानका लागि पनि मतदान हुनेछ।

राष्ट्रपति चुनिने व्यक्ति जनवरी २० सम्म आफ्नो टिम तयार पार्न सक्रिय हुन्छन्। त्यही समयमा हुने गृहकार्यले मुलुक कसरी अघि बढ्ने भन्ने तय हुन्छ। धेरै जोखिम बेहोरिरहेको विश्वमा अमेरिकाको नयाँ राष्ट्रपतिको भूमिका महत्त्वपूर्ण हुन्छ। इन्टरनेसनल क्राइसिस ग्रुपका प्रमुख कम्फर्ट इरोले बीबीसीसँग भनेका छन्, ‘विश्वमा जारी द्वन्द्व समाधान गर्ने अमेरिकी शक्ति क्षीण भए पनि शान्ति र सुरक्षाको मामिलामा अमेरिका सबैभन्दा महत्त्वपूर्ण खेलाडी हो।’

प्रकाशित: १७ कार्तिक २०८१ १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =