काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
पहाडी भू-भागमा वर्षा तथा उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको हो। विभागका अनुसार आज बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ।
आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
विभागले राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।