काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने अडिग, अटल र अविचलित भएर आफूविरुद्ध भएको अन्यायविरुद्धको कानुनी लडाईंमा लड्ने प्रष्ट पारेको छ। हिजो सोमबार सभापति लामिछाने, उपसभापतिद्वय डीपी अर्याल, डा.स्वर्णीम वाग्ले र कार्यवाहक प्रवक्ता मनिष झाले कास्की प्रहरीको हिरासतमै छलफल गरेका थिए।
रास्वपाले आज मंगलबार हिरासतमा लामिछानेसँग गरिएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले सन्देश जारी गर्दै अन्यायविरुद्ध लडिरहने बताएको हो। सन्देशमा लामिछाने हिरासतमा रहँदा हतास नदेखिएको पनि उल्लेख गरिएको छ।
‘हिरासतको जीवन सहज कसैका लागि पनि सहज हुँदैन। तर सभापतिसँगको हरेक भेटमा हामी सबैले महसुस गरेको एउटा कुरा के हो भने उहाँ हतास हुनुभएको छैन,’ रास्वपाले भनेको छ,’इतिहास साक्षी छ, देश होस या व्यक्ति लडेरै माथि उठ्छ। अनि झुठा कुराको आयु जति नै लामो होस् त्यसलाई सत्यले नै बदल्छ। यही विश्वासको जगमा टेकेर राज्य व्यवस्थाको शक्तिपृथकीकरणमा अझै पनि विश्वास गर्दै यो अन्यायविरुद्धको कानुनी लडाइँमा हाम्रा सभापति अटल, अडिग र अविचलित भएर लड्नु हुनेछ।’
लामिछानेले हिरासतभित्रबाट आफूमाथि शुभेच्छा राख्ने सबैमाथि आभार सुनाइदिन पनि आग्रह गरेको रास्वपाले बताएको छ। सरकार र पूराना दलहरूका कारण नेपालमै केही गरौँ भन्ने सोच भएका नेपालीहरूमा पनि निराशा बढ्दै गएको रास्वपाले बताएको छ।
त्यस्तै, सभापति लामिछानेले आफू कानुनी लडाईं लड्न सक्षम भएको पनि भेट्न पुगेका नेताहरूलाई बताएको रास्वपाले बताएको छ।





