स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा माओवादी र एकीकृत समाजवादीले सहकार्य गर्ने

हिमाल प्रेस १ मंसिर २०८१ २१:२१ | Saturday, November 16, 2024
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा माओवादी र एकीकृत समाजवादीले सहकार्य गर्ने

काठमाडौँ- सत्ताबाट बाहिरिएपछि सबै चुनावहरू एक्लै लड्ने उद्घोष गरेको नेकपा (माओवादी) केन्द्रले स्थानीय तह उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ।

आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर र काठमाडौँमा माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य गर्ने भएको हो। दुवै दलबीच कीर्तिपुरको मेयर र काठमाडौँ वडा नम्बर १६ का वडाध्यक्ष पदका लागि सहकार्य गर्ने सहमति भएको हो।

सहमतिअनुसार एकीकृत समाजवादीले कीर्तिपुरमा माओवादीका मेयर पदका उम्मेदवार शिवशरण महर्जन र माओवादी केन्द्रले काठमाडौँ वडा नम्बर १६ मा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरलाई वडाध्यक्षमा समर्थन गर्नेछ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीले कीर्तिपुर उपचुनावका लागि सहकार्य गर्ने निर्णय गरे पनि सत्ता साझेदारी गरिरहेका नेपाली कांग्रेस र नेकपा एमालेले भने आ–आफ्नो दलबाट उम्मेदवारी दिने भएको छ।

कीर्तिपुरको मेयर पदका लागि कांग्रेसले नगरसभापतिसमेत रहेका कृष्णमान डङ्गोल र एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

२०७९ को वैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयर पदमा निर्वाचित राजकुमार नकर्मीको गत साउनमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ।

प्रकाशित: १ मंसिर २०८१ २१:२१ | Saturday, November 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast