स्थानीय तह उपनिर्वाचन : आइतबारदेखि आचारसंहिता लागु, क–कसलाई लाग्छ?

हिमाल प्रेस १ मंसिर २०८१ १८:२२ | Saturday, November 16, 2024
स्थानीय तह उपनिर्वाचन : आइतबारदेखि आचारसंहिता लागु, क–कसलाई लाग्छ?

काठमाडौँ- स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि आचारसंहिता लागु हुने भएको छ। निर्वाचन आयोगको शनिबार बसेको बैठकले आइतबारदेखि आचारसंहिता लागु गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेलले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु गर्ने निर्णय भएको जानकारी दिइन्।

आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र त्यसका सदस्यलाई आचारसंहिता लागू हुनेछ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्तिलाई पनि आचारसंहिता लागु हुने आयोगले जनाएको छ।

यसका साथै राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता र विकास साझेदार संस्थालाई पनि आचारसंहिता लागु हुनेछ।

सरकारी र अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यृक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचरी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिताविपरितका गतिविधि भएको पाइएमा लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीयलगायतका माध्यमबाट आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आयोगले आग्रह गरेको छ।

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ। मनोनयनपत्र दर्ताका लागि आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकेको छ। मनोनयनपत्र सम्बन्धित स्थानीय तहमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा दर्ता हुने आयोगले जनाएको छ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकएक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदका लागि निर्वाचन हुँदैछ।

प्रकाशित: १ मंसिर २०८१ १८:२२ | Saturday, November 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast