आईपीओ निष्कासनका लागि अनुमतिको पर्खाइमा पर्यटनसँग सम्बन्धित सात कम्पनी

हिमाल प्रेस १२ मंसिर २०८१ १३:२२ | Wednesday, November 27, 2024
आईपीओ निष्कासनका लागि अनुमतिको पर्खाइमा पर्यटनसँग सम्बन्धित सात कम्पनी

काठमाडौँ- होटल र पर्यटन व्यवसाय क्षेत्रसँग सम्बन्धित सातवटा कम्पनीहरू सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुमति पर्खिरहेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत यी कम्पनीहरूले पुँजी जुटाउन प्रारम्भिक सेयर (आईपीओ) निष्कासन गर्ने योजना बनाएका हुन्। यसमा पाँचवटा होटल र दुईवटा केबलकार कम्पनी छन्।

सेबोनका अनुसार अर्किड होल्डिङ (होटल क्राउन इम्पेरियल), आकमा होटल, ठमेल प्लाजा होटल एन्ड सुइट्स (रामाडा एन्कोर), एपेक्स हस्पिटालिटी (एपेक्स मल्ल र सिद्धार्थ होटल) र फरेस्ट इन प्रालिले आईपीओ ल्याउन आवेदन दिएका छन्। अनुमतिको पर्खाइमा रहेका अन्य दुई कम्पनीमा आरकेडी होल्डिङ (बन्दीपुर केबलकार) र अन्नपूर्ण केबलकार छन्।

अर्किड होल्डिङ्स प्रालिले आईपीओमार्फत १.१५ अर्ब रुपैयाँ जुटाउने लक्ष्यका साथ १ करोड १५ लाख एकाइ सेयर जारी गर्न आवेदन दिएको छ। आकमा होटल प्रालिले प्रत्येक सेयरको अंकित मूल्य ५० रुपैयाँका ४५ लाख एकाइ सार्वजनिक सेयर जारी गरी कुल २२.५ करोड रुपैयाँ जुटाउन आवेदन दिएको छ।

ठमेल प्लाजा होटल एन्ड सुइट्सले १० लाख एकाइ सार्वजनिक सेयर जारी गरी १० करोड रुपैयाँ जुटाउने योजना गरेको छ। एपेक्स हस्पिटालिटीले कुल २४ करोड रुपैयाँ बराबरका २४ लाख एकाइ सेयर जारी गर्न आवेदन दिएको छ। त्यसैगरी होटल फरेस्ट इन प्रालिले ९८ करोड रुपैयाँ बराबरका ९८ लाख एकाइ सेयर जारी गर्न प्रस्ताव गरेको छ।

त्यसैगरी अन्नपूर्ण केबलकारले कुल ३१ करोड रुपैयाँका ३१ लाख एकाइ सेयर जारी गर्न स्वीकृति मागेको छ। आरकेडी होल्डिङले ३०.६ करोड रुपैयाँ जुटाउन ३० लाख ६ हजार एकाइ सेयर जारी गर्न आवेदन दिएको सेबोनले जनाएको छ।

यसअघि यस्ता छवटा कम्पनीहरू नेप्सेमा सूचीकृत भइसकेका छन्। तिनमा सोल्टी होटल लिमिटेड, तारा गाउँ रिजेन्सी होटल लिमिटेड, ओरियन्टल होटल्स लिमिटेड, चन्द्रागिरि हिल्स लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र सिटी होटल लिमिटेड छन्।

यी कम्पनीका सेयरको दोस्रो बजारमा ठूलो माग छ। मंगलबार तारागाउँ रिजेन्सी होटल लिमिटेड (हयात रिजेन्सी) को सेयर प्रतिएकाइ १,१४८ रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी कालिञ्चोक दर्शन, ओरियन्टल होटल (र्‍याडिसन काठमाडौँ), चन्द्रागिरि हिल्स, सिटी होटल (हयात प्लेस) र सोल्टी होटल लिमिटेड (द सोल्टी काठमाडौँ) का सेयरहरू क्रमशः १,०९९ रुपैयाँ, ९३२ रुपैयाँ, ९५५ रुपैयाँ, ९५८ रुपैयाँ र ५६२ रुपैयाँ प्रतिएकाइमा कारोबार भएका थिए।

प्रकाशित: १२ मंसिर २०८१ १३:२२ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast