साउदीमा तडकभडकले फन्दामा नेपाली, रक्सी खाने र हाफ पाइन्ट लाउनेमाथि कारबाही

हिमाल प्रेस २९ कार्तिक २०८१ ११:०० | Thursday, November 14, 2024
साउदीमा तडकभडकले फन्दामा नेपाली, रक्सी खाने र हाफ पाइन्ट लाउनेमाथि कारबाही

काठमाडौँ- वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका नेपाली कामदार तडकभडक देखाउँदा कानुनी फन्दामा पर्न थालेका छन्। साउदीस्थित नेपाली दूतावासले अमर्यादित पहिरन लगाएर तडकभडक नदेखाउन त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ।

दूतावासले सार्वजनिक स्थलमा चुरोट र मदिरा सेवन गर्दा नेपाली कानुनी समस्यामा पर्न थालेको जनाएको छ। साउदीमा कार्यरत नेपाली कामदारले सुनको सिक्री, ब्रास्लेट र हाफपाइन्ट हिँडदा त्यहाँको सार्वजनिक मर्यादा र शिष्टाचार नभएको भन्दै साउदी प्रहरीले कतिपय नेपाली नियन्त्रणमा लिइरहेको दूतवासले जनाएको छ।

साउदीमा तडकभडक देखाउँदै सुनको सिक्री, ब्रास्लेट र हाफपाइन्ट लगाएर हिँडेका कतिपय नेपाली पक्राउ पर्न थालेको भन्दै दूतावासले सचेत गराएको छ।

यस्तो तडकभडक देखाएर हिडेन नेपाली कामदार जरिवानामा परेको र उनीहरूलाई सार्वजनिक मर्यादा र शिष्टाचारसम्बन्धी पहिरन तथा आचरण देखाउन दूतावासको सूचनामा भनिएको छ।

साउदीमा सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी सबै नागरिकले नम्र लुगा लगाउनुपर्ने, सामान्य शिष्टता उल्लंघन गर्ने फोटो, चित्र, चिह्न वा वाक्यांशहरू भएको पोसाक लगाउन नहुने कानुनी व्यवस्था छ।

कतिपय युवाले शरीरका विभिन्न भागमा अरेबियन संस्कृतिविपरीत अर्थ लाग्ने आकृतिका ट्याटुसमेत खोप्ने कारण कानुनी फन्दामा पर्न थालेको दूतावासले जनाएको छ।

वैदेशिक रोजगारीमा गएका नेपाली युवाले सार्वजनिक स्थलमा जाँदा नेपालमा जस्तै आफूखुसी पहिरन लगाउने, असभ्य व्यवहार र अनुशासनहीन गतिविधि देखाउने गर्दा कानुनी फन्दामा पर्ने गरेको साउदीस्थित नेपाली दूतावासका सूचना अधिकारी टोपनारायण गिरीले जानकारी दिए।

उनका अनुसार साउदीमा पुरुषहरूले टी-सर्ट लगाउन सक्ने भएपनि स्लिभलेस अर्थात बाहुला नभएको सर्टलाई अझै पनि नकारात्मकमा रुपमा हेर्ने चलन छ।

दूतावासले सबै नेपालीलाई सामाजिक मर्यादा र शिष्टाचार कायम गर्दै सार्वजनिक स्थलमा उच्च सतर्कता नअपनाइ स्थानीय धर्म, संस्कृति विपरीतका कार्य, यौनजन्य गलत व्यवहार देखाएमा वा ट्राफिक नियम विपरित कार्य गरेर जरिवाना हुने विषयमा सचेत गराउँदै आएको छ।

महिलालाई आफ्नो खुट्टाको कम्तीमा घुँडा र काँध देखिने पहिरन र जीन्स लगाउन प्रतिबन्ध छ। साउदीमा छालाको जति धेरै भाग छोपियो त्यति धेरै सभ्य नागरिक मानिन्छ।

पछिल्लो समयमा रोजगारीमा पुगेको नेपाली महिलाले जथाभावी कपडा लगाएर हिँडदा कानुनी झेमला खेप्नुपरेको दूतावासले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८१ ११:०० | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast