वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद चाँडै टुङ्गो लाग्छ : मुख्यमन्त्री सिंह

हिमाल प्रेस २८ कार्तिक २०८१ १८:०५ | Wednesday, November 13, 2024
वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद चाँडै टुङ्गो लाग्छ : मुख्यमन्त्री सिंह

वीरगञ्ज – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जासम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताएका छन्।

नारायणी रङ्गशाला परिसरमा रहेको उक्त मैदान निरीक्षण गर्दै बुधबार उनले वर्षौंदेखिको मुआब्जा विवाद आफ्नै कार्यकालभित्र टुङ्गो लगाउने प्रतिबद्धता जनाएका हुन्।

‘आजै म काठमाडौँ जाँदैछु, संघीय युवा तथा खेलकुदमन्त्रीसँग भेटेरै मुआब्जा विवाद सम्बन्धी फाइल अर्थ मन्त्रालय पठाउन आवश्यक पहलकदमी गर्नेछु,’ उनले भने, ‘राज्यको न्यून लगानीका बाबजुद पनि खेलाडीले मेहनत गरिरहनुभएको छ। खेलाडीको प्रोत्साहनका लागि प्रदेश सरकारले पनि हातेमालो गरेर अघि बढ्न चाहान्छ।’

उनले प्रदेश सरकारसँग सीमित स्रोतसाधन भएकाले पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए। ‘प्रदेश सरकारले क्रिकेट मैदानका लागि थोरै बजेट विनियोजन गरेको छ। सो बजेट पर्याप्त छैन। यद्यपि आगामी आवको बजेटमा थप गर्नेछौँ,’ उनले भने।

क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले मुआब्जा विवादका कारण क्रिकेट मैदानलाई तारजालीले घेराबेरा गर्न समेत नसकेको गुनासो गरे। ‘करिब चार कट्ठा जग्गाको मुआब्जा विवाद टुङ्गो नलाग्दा मैदान संरक्षणको काम गर्न समस्या भइरहेको छ,’ उनले भने, ‘हालसालै वीरगञ्ज क्रिकेट मैदानको ‘पिच’ लाई स्तरोन्नति गरी खेल्न मिल्ने बनाइसकेका छौँ।’

प्रकाशित: २८ कार्तिक २०८१ १८:०५ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast