विश्वकपमा छनोट भएका नेपाली महिला क्रिकेट टोलीलाई भव्य स्वागत

हिमाल प्रेस २९ कार्तिक २०८१ २१:२३ | Thursday, November 14, 2024
विश्वकपमा छनोट भएका नेपाली महिला क्रिकेट टोलीलाई भव्य स्वागत यू-१९ महिला क्रिकेट टाेली

काठमाडौँ – उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा महिला टोलीलाई भव्य स्वागत गरिएको छ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीहरू र खेल समर्थकहरूले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

राखेपका सदस्य सचिव घिसिङले यू–१९ टोलीले ऐतिहासिक सफलता हासिल गरेकोमा बधाई दिए। त्यस्तै नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले महिला क्रिकेटमा स्वर्णिम युगको सुरुआत भएको बताए।

नेपाली टोलीकी कप्तान पुजा महतोले टिमवर्कका कारणले नेपालले विश्वकपसम्मको यात्रा तय गर्न सफल भएको बताइन्। आजै क्रिकेट संघ (क्यान) ले नेपाली खेलाडीलाई जनही रु. दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो।

संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यू–१९ विश्वकपमा छनोट भएको थियो।

नेपालले ६ खेलबाट १० अंक जोड्दै विश्वकपमा स्थान बनाएको हो। त्यस्तै युएईले पनि समान खेलबाट समान १० अंक नै जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो। यु–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।

विश्वकपका साथै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ। एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागि नेपाल छनोट भएको हो। यू–१९ एसियाकप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बंगलादेश र मलेसिया सहभागी हुनेछन्।

प्रकाशित: २९ कार्तिक २०८१ २१:२३ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast