धरानमा शनिबार आयोजित समारोहमा कवि विमल गुरुङ कृति पुरस्कारबाट पुरस्कृत प्रकाश थाम्सुहाङ र कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा सम्मानबाट सम्मानित विवेक विवश रेग्मी। तस्बिर : हिमालप्रेस
धरान- शब्दथुम कृतिका लेखक प्रकाश थाम्सुहाङलाई २०८० सालको कवि विमल गुरुङ कृति पुरस्कार प्रदान गरिएको छ। थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ लाई शनिबार एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको हो। उनलाई नगद दुई लाख रुपैयाँ, ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. भीमप्रसाद खतिवडा, वरिष्ठ कवि बम देवान र विमल गुरुङ स्मृति पुस्तकालयका संरक्षक तथा विमलका बुबा पूर्णबहादुर गुरुङले पुरस्कृत गरे। कृति पुरस्कारका लागि देश तथा विदेशबाट एक सय एक वटा पुस्तक प्राप्त भएका थिए।
यसैगरी सोही कार्यक्रमको अवसर पारेर इटहरी २० मा रहेर पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय विवेक विवश रेग्मीलाई कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा सम्मानले सम्मानित गरिएको छ। नगदसहित उनलाई युवा प्रतिभा सम्मानबाट कार्यक्रमका प्रमुख अतिथिलगायतले सम्मानित गरेका हुन्।
कार्यक्रममा कवि विमलको कविता संग्रह एक किलो जंगल कृतिको लोकार्पण गरिएको थियो।
कविता प्रतियोगिता
सोही कार्यक्रममा ३३ औँ राष्ट्रिय कविता महोत्सवसमेत आयोजना गरियो। प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप (प्रदीप ढुंगाना) प्रथम भए। उनको ‘सपना’ शीर्षकको कविता प्रथम भएको हो।
यसैगरी बेलायतमा बसोवास गर्ने शान्ति लिम्बूको ‘थेम्स नदीको किनारै किनार’ दोस्रो र मोरङकी समीक्षा छिलिङ राईको ‘फूल र म’ कविता तेस्रो भएको छ। उनीहरूले क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे।
कविता महोत्सवका लागि स्वदेश र विदेशका कविहरूबाट प्राप्त भएका ८१ कविताहरूमध्ये १० कविता छनोट गरिएको थियो। छनोटमा परेकामध्ये उत्कृष्ट तीन कवितालाई क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको हो।
प्रतियोगितामा अन्जान प्रदीपको ‘सपना’, शान्ति लिम्बूको ‘थेम्स नदीको किनारैकिनार’, समीक्षा छिलिङ राईको ‘फूल र म’, दीपेन्द्र आचार्यको ‘ल्याप्चे’, मिन्जाई राईको ‘बूढो परदेशी’, प्रशान्त उप्रेतीको ‘विलासी राता बाकस’, लेकाली कान्छा मुक्कुमको ‘रैथाने बगैँचाको अर्गानिक मुस्कान’, सिजन श्रेष्ठको ‘तेजबहादुर दर्जी’, अनाम अपेक्षितको ‘एउटा सडकको समालोचना’ र दीपा मग्रातीको ‘देशमा मेरो अनुहार’ कविता उत्कृष्ट १० मा छनोट भएको थियो।



