 
                             
                                            दाङ- दाङको घोराही उपमहानगरपालिका–१४ झिंगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ। उनी यस वर्षको दसैंँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना मादलको मर्मत गरी रु डेढ लाख बढी आम्दानी गरेको बताउँछन्।
पछिल्लो समय नयाँ मादल खरिद गर्नेभन्दा पुराना मादल खरिदका लागि आउने गरेको उनले सुनाए। ‘पुराना मादल मर्मत गर्दा कम समयमा पनि राम्रो आम्दानी हुने गर्दछ। अरु बेला सुनसान हुने हाम्रो व्यवसाय दसैं–तिहारको अवसरमा बढोत्तरी हुन्छ। दसैँमा नाच्ने र तिहारमा देउसी–भैलो खेल्नका लागि मादलको माग बढी हुने गरेको छ। जसले गर्दा राम्रो आम्दानी हुन्छ’, बादीले भने।
आम्दानी मात्रै होइन आफ्नो पुस्ताले यो पेसा नै संरक्षण गरिरहेको उनको भनाइ छ। ‘पछिल्लो समय मादल बनाउन जानेको मानिस पाउन समस्या छ। मैले सानैमा बुबा–बाजेबाट मादल, बाँसुरी र ढोलक बनाउँन सिके, त्यही सिपले अहिले दैनिकी चलाइरहेको छु’, बादी भन्छन्, ‘तर अहिलेको पुस्तामा मादल बनाउने सिप छैन। न आकर्षण छ।’
घोराहीमा विगत ५० वर्षदेखि निरन्तर मादल बनाउने र बिक्री गरेर आयआर्जन भइरहेको बताउने उन ियही कर्मले घरपरिवारको सम्पूर्ण गर्जो टार्ने काम भइरहेको बताउँछन्। ‘हाम्रो अरु पेसा सङ्कटमा पर्याे। समय बदलिँदै जाँदा यो पेसा पनि विस्तारै हराउला तर पनि त्यो सिप भएकाले हाल हातमुख जोर्न सहज भएको छ। योभन्दा अरु सिप पनि छैन। उमेरले साथ दिएसम्म आफनो पेसा छोड्ने मन छैन’, उाको कथन छ।
मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक काठ, छाला र खरी लगायत सामग्री पाउनै समस्या भएको जुठे बादीले समस्या सुनाए। ‘चाडपर्वको समय छ। नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि आजभोलि दैनिक १५/२० जना मानिसहरु आउने गरेका छन्। तर एक्लै भएकाले काम गर्न समस्या छ। त्यसैमा आवश्यक सामाग्री पनि सजिलै पाइँदैनन्। त्यसैले योबेला मागअनुसार काम गर्न कठिन छ’, उनी भन्छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 