‘भारतबाट विदेश पुर्‍याउँछु’ भन्दै युवती फकाउने राजु तामाङ प्रहरी नियन्त्रणमा

हिमाल प्रेस ८ मंसिर २०८१ १२:२४ | Saturday, November 23, 2024
‘भारतबाट विदेश पुर्‍याउँछु’ भन्दै युवती फकाउने राजु तामाङ प्रहरी नियन्त्रणमा

चितवन- मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ।

पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयले निजलाई नारायणगढबाट बुधबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए। उनका अनुसार विभिन्न स्थानका युवतीलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङ्लाई पक्राउ गरिएको हो।

मिश्रले भने, ‘थिङले युवतीहरुको पासपोर्ट संकलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागिएको थियो। भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरुलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो।’ मानव बेचबिखनको यो नयाँ स्वरूप भएको उनले बताए।

मिश्रले भने, ‘थिङको नियत खराब भएको थाहा पाएपछि युवतीहरुले आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए।’ थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरिएको जनाउँदै उनले युवतीहरुको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको बताए।

प्रकाशित: ८ मंसिर २०८१ १२:२४ | Saturday, November 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast