 प्रधानन्यायाधीश राउत र तत्कालीन सभामुख ढुंगाना ।
                             प्रधानन्यायाधीश राउत र तत्कालीन सभामुख ढुंगाना ।
                                            काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आफ्ना गुरु पूर्वसभामुख दमनाथ ढुंगानासँग बिताएका पलहरू तथा उनले दिएको शिक्षा दिक्षा झलझली याद आइरहेको छ। उनलाई आफ्ना गुरुको निधनले मर्माहत बनाएको छ।
‘मेरा गुरु निष्कलङ्क छवि, असल चरित्र, निष्ठावान, नैतिक धरातलमा रहने, सक्षम र अध्ययनशील हुनुहुन्थ्यो। उहाँका तीन पाटा छन्, पत्रकार, कानुन व्यवसायी र सभामुख’, प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘उहाँसँग जुनसुकै विषयमा पनि ज्ञान थियो।’ वरिष्ठ अधिवक्तासमेत रहेका पूर्वसभामुख ढुंगाना असाध्यै अध्ययन गर्ने कानुन व्यवसायी भएको उनको भनाइ छ।
‘अध्ययन धेरै गर्नुहुन्थ्यो, काठमाडौँबाट प्रकाशन हुने प्रायः सबै पत्रिका पढ्नुहुन्थ्यो’, प्रधानन्यायाधीश राउतले विगत स्मरण गर्दै भने, ‘बिहान निस्किने पत्रिका मात्र होइन्, सन्ध्याकालीन पत्रिका पनि किनेर पढनुहुन्थ्यो।’
पूर्वसभामुख ढुंगानालाई दर्शन, साहित्य, स्वाथ्य, शिक्षालगायत विषयमा ज्ञान थियो। उनले जहिले पनि देशको हितका विषयमा मात्र कुरा गर्नेगरेको प्रधानन्यायाधीश राउत बताउँछन्।
‘म दमननाथ गुरुको शिष्य हुँ, उहाँले मलाई कानुन व्यवसाय सिकाउनु भएको हो, कहिले पनि उहाँले आफ्नो स्वार्थका लागि काम गर्नु भएन’, उनले भने, ‘संसदीय अभ्यासमा ढुंगानाको ठूलो योगदान छ, संसद्मा रुलिङ गर्नुपर्छ भनेर पहिला नै संसदीय अभ्यासको सम्पूर्ण विषयमा पढेर जानकारी लिनुुहुन्थ्यो, एकदमै दक्ष, प्रस्तुति र लेखनमा निपूर्ण हुनुहुन्थ्यो, वकालत सँगसगै विभिन्न पत्रिकामा आफ्ना विचार लेख्नुहुन्थ्यो।’
प्रधानन्यायाधीश राउतको पूर्वसभामुख ढुंगानासँग २०३९ फागुनमा भेट भएको थियो। ‘कानुन पढ्दै गर्दा भेट भएको हो। ढुंगानाको ‘ल फर्म’ पुतलीसडकमा थियो। त्यही बेला वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादव र वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग भेट भएको थियो’, प्रधानन्यायाधीश राउतलाई अहिले पनि सम्झना छ।
पूर्वसभामुख ढुंगाना नेपाली मात्र होइन, विदेशका पत्रपत्रिका पनि राम्रैसँग अध्ययन गर्नुहुन्थ्यो। उहाँलाई बाटोमा हिँड्दा धेरैले सम्मान गर्ने गरेको प्रधानन्यायाधीश राउतको स्मृतिमा ताजै छ।
‘वकिल हुँदा उहाँसँग हिँड्दा धेरैले सम्मान गर्थे, बाटोमा हिँड्दा परैबाट आएर पनि नमस्कार गर्ने गर्थे’, प्रधानन्यायाधीश राउतले भने, ‘उहाँ असाध्यै निष्ठाको मान्छे हो। उहाँबाट सिक्नलायक विषय धेरै थिए, जुनसुकै विषयमा अब्बल, हरेक समस्याको समाधान गर्न सक्ने हुनुहुथ्यो।’ त्यो बेला ढुंगानाले भाषण गरेपछि कार्यपत्र खोज्न वकिल धेरै दिनसम्म नेपाल बार एसोसिएशन वरिपरि घुम्ने गरेको उनको सम्झना छ।
‘वकिल हुँदा दमन ढुंगाना मात्रै भनिन्थ्यो, सभामुख भए पछि मात्र दमननाथ भनेर लेख्न थालियो’, उनले विगत सम्झिदै भने, ‘सभामुख हुँदा पनि उहाँले राज्यबाट केही सुविधा लिनु भएन, मानिस स्वाभिमानी हुनुहुपर्छ भन्नुहुन्थ्यो, शक्ति र सत्ताको पछि उहाँ कहिलै लाग्नुभएन।’
सभामुख हुँदा पनि ढुंगानाले राज्यबाट पाउने सुविधा नलिएर आफ्नै सवारीसाधनमा आउने जाने गर्थे। उनको नेपाली, अङ्ग्रेजी र नेवारी भाषामा राम्रो दक्षता थियो।
‘भर्खर प्रजातान्त्र आएको बेलामा ‘सरकार बहुमतको हुन्छ’ र ‘संसद् भनेको प्रतिपक्षको हो’ भनेर उहाँले स्थापित गर्नुभयो’, प्रधानन्यायाधीश राउतले भने, ‘ढुंगानालाई २०५२ सालमा अमेरिका, बेलायत र भारतमध्ये एक ठाउँमा छानेर राजदूत बन्नुस भनेर तत्कालीन कानुनमन्त्रीको प्रस्ताव मैले सुनाएको थिएँ, कानुनमन्त्रीले सिधैँ उहाँलाई भन्ने आँट गर्नुभएन, मैले नै उक्त प्रस्ताव राखे। उहाँ पहिलो पटक मसँग रिसाउनुभयो, म जागिर खान जाने होइन, राज्यको सेवा गर्न जन्मिएका हो भन्नुभयो’, उतिबेलाको प्रसङरग सम्झिँदै प्रधानन्यायाधीश राउतले भने।
प्रधानन्यायाधीश राउतले आफ्ना गुरु ढुंगानाबाटै कानुनका विषयमा पढ्न, लेख्न र बोल्न सिक्नुभयो। ‘गुरुको पथमा हिँडेर नै आज म यस ठाउँसम्म आइपुगेको हुँ, मलाई उहाँले नै शिक्षित र दीक्षित गर्नुभएको हो’, उनले भने, ‘न्यायालयको परिर्वतन गर्न सल्लाह दिनुभएको थियो, केही राम्रो गरोस भन्ने चाहाना राख्नुभएको थियो।’
न्यायपालिकाको सुधारमा लाग्नु भनेर प्रोत्साहन गर्नुहुने गुरुले आफ्नो शिष्य प्रधानन्यायाधीश बनेको हेर्न पाउनुभयो। तर सम्पूर्ण काम भने हेर्न पाउनुभएन। ‘म ४४ वर्षदेखि गुरुको छत्रछायामा थिए, सधैँ मलाई सम्झनुहुन्थ्यो, खोजिरहनुहुन्थ्यो, न्यायालयको सुधारमा ध्यान दिनुस् भन्नुहुन्थ्यो’, प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘गत शनिबार घरमै भेटेर आएको थिएँ, गुरु–शिष्यको त्यही नै अन्तिम भेट रहेछ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 