 
                             
                                            पोखरा– नेपाली फिल्मको ६० वर्षे इतिहासमा सर्वाधिक कमाई गरेको ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य कलाकार विजय बराल शनिबार पोखरेली दर्शकमाझ घेरिए।
पोखरा सभागृह चोकस्थित मिड टाउन ग्यालेरियामा दर्शकप्रति आभार व्यक्त गर्न उनी के छिरेका थिए, दर्शकले उनीप्रति प्रेमभाव दर्शाउँदै लगातार सेल्फी खिचिरहे। कलाकार बरालले पनि फिल्म मन पराइदिएकोमा खुसी व्यक्त गर्दै दर्शकलाई धन्यवाद दिए।
फिल्म यूनिटसहित साँझ पौने ६ बजे मिट टाउनमा उनले फिल्म हेरेर बाहिरिन लागेका दर्शकको प्रतिक्रिया लिए भने लगत्तै अर्को शो छिर्न लागेका दर्शक भेटे। यस्तै, उनले शनिबार नै चिप्लेढुंगास्थित सिने प्लेक्सका दर्शकसँग पनि प्रत्यक्ष भलाकुसारी गरे।
प्रदर्शनको ठीक ३ सातामा ४० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको यस वर्षको सर्वाधिक सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ मा बराल लिड क्यारेक्टर हुन्। बाबुको भूमिकामा उनको अभिनयले दर्शक दिनहुँ हल तानिरहेको छ। नाटक अभिनयमा थियटरमा समेत जीवन्त लाग्ने बराल डेढ दशक लामो फिल्म करियरमा भने सधैँजसो हास्यपात्रमा देखा परे।
लिड रोलमा उनको यो डेब्यू हो। तैपनि फिल्मभर छोरा ठूलो बनाउन उनको गरेको संघर्षको सेन्टिमेन्टले दर्शकलाई आँशु पुछ्दै बाहिरिन बाध्य गराउँछ। लक्ष्मीपूजाको दिनदेखि प्रदर्शन आरम्भ यो फिल्मले अझै केही साता राम्रो व्यापार गर्ने निश्चित छ। फिल्मले नेपालसहित विदेशमा पनि उस्तै शो पाइरहेको छ।
सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले आफ्नो क्यारेक्टर मन पराइदिएकोमा खुसी व्यक्त गर्दै अबको केही समय नाटकमा व्यस्त हुने जानकारी दिए। उनले समाजका विभिन्न चरित्रमध्ये फरक–फरक खालको चरित्रमा अभिनय गर्दै जाने बताए। दर्शकले यस्तैखालको चरित्र मन पराए पनि आगामी यहीखालको चरित्रमा देखा नपर्ने स्पष्ट पारे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 