‘परालको आगो’मा अनुबन्धित भइन् सुहाना

हिमाल प्रेस ७ मंसिर २०८१ १९:२१ | Friday, November 22, 2024
‘परालको आगो’मा अनुबन्धित भइन् सुहाना

काठमाडौँ- कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन्।

फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार फिल्ममा अनुबन्धित गरेकी हुन्।

मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको छ। ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ।

फिल्ममा अनुबन्धित भएपछि सुहानाले खुसी व्यक्त गरेकी छन्। ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो। त्यहीकारण मैले घरबाहिरको फिल्म पहिलोपटक साइन गरें,’ सुहानाले भनिन्।

उनले दर्जनौं मल्टिस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट फिल्म दिएको ठूलो ब्यानर हरिओम सिने मेकर्स र ‘बुलाकी’ जस्तो दर्जनौं अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारसँग काम गर्न पाउनु अर्को खुसीको कुरा रहेको बताइन्। ‘सुशील अंकलसँग सहकार्य गर्न पाउनु मेरो लागि अझ खुसीको कुरा हो,’ उनले भनिन्।

निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ को दसैँमा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए। निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ।

निर्माता पोखरेलले यसअघि फिल्महरू ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन्।

प्रकाशित: ७ मंसिर २०८१ १९:२१ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast