नेपालको बिजुली अब बंगलादेशमा, शुक्रबारदेखि निर्यात गरिने

हिमाल प्रेस २९ कार्तिक २०८१ २०:२३ | Thursday, November 14, 2024
नेपालको बिजुली अब बंगलादेशमा, शुक्रबारदेखि निर्यात गरिने

काठमाडौँ-  नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको छ। विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुंगा कायम हुन लागेको प्रतिक्रिया दिए। भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्याह्न विद्युत् निर्यात गर्नेछ।

विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बंगलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत् बंगलादेश निर्यात गरिनेछ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ। सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बंगलादेश पुर्‍याउनेछ।

सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली ब‌ंगलादेश पुग्नेछ। प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गरिने जनाएको छ।

प्रवक्ता घोषका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेश पठाउनेछ। यसैबीच, बंगलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ।

सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बंगलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ। रासस

प्रकाशित: २९ कार्तिक २०८१ २०:२३ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast