नयाँ पुस्तामा पनि उस्तै छ ‘कन्दरा’ क्रेज

सुस्मिता बजगाईं १५ मंसिर २०८१ १८:२५ | Saturday, November 30, 2024
6
SHARES
नयाँ पुस्तामा पनि उस्तै छ ‘कन्दरा’ क्रेज

गत महिना उपत्यकामा गुञ्जिएको सांगीतिक ब्यान्ड ‘कन्दरा’सँग साक्षात्कार गर्ने मौका मिल्यो। गाउँघरका मेला र जात्रामा कलाकारको एकल प्रस्तुति हेरेको भए पनि कन्दराको कन्सर्ट मेरो पहिलो अनुभव थियो। तीन दशकअघि चर्चित बनेको सांगीतिक ब्यान्ड कन्दराले ९० को दशकमा ‘चञ्चले कान्छीको’, ‘लेकाली हे माया’, ‘हङकङ पोखरा’ जस्ता गीतमार्फत दर्शकको मन जितिसकेको थियो।

बाल्यकालमा रेडियोमा सुनेका ती गीतको गाउने गायक कस्ता होलान्? लाइभमा कस्तो सुनिएलान्? मनमा कौतूहल थियो। जब स्टेजमा ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठले ‘तगारोमा रुमाल राखी’ देखि ‘हङकङ पोखरा’ सम्म ‘इनर्जी’का साथ गाए। उनको गीत गाउने शैली देखेर अन्त आँखा गइरहेको थिएन। छेउमा बसेका दिदीहरूले पनि उनकै प्रस्तुतिको चर्चा गरिरहेको सुनेँ- ‘विवेक त अहिले पनि उस्तै देखिएको छ त!’

काठमाडौँको ठमेलस्थित एलओडीको भित्तामा उतिबेलाको गीतको भिडियो चलिरहेको थियो। दर्शकचाहिँ विवेकको ‘बडी मेन्टेन’देखि ड्रम बजाइरहेका सुनिल थापाको लगावको प्रशंसामा थिए। बालकदेखि वृद्धसम्मले खचाखच एलओडीमा प्रायः दर्शक विवेकको इनर्जीमै केन्द्रित थिए। अग्ला कदका विवेकको गाउने शैली र गीतको भावमा दर्शक आफ्नै धुनमा गुञ्जिरहे। ‘वान्स मोर’ को ‘हुटिङ’सहित दर्शकले पनि गायनमा साथ दिँदा विवेक थप हौसिइरहेका देखिन्थे।

यो त भयो विवेकले अहिले देखाएको स्टेज प्रस्तुति। त्यही प्रस्तुति र अनि कन्दराका ती दिनबारे खोतल्न खोज्दा विवेकले पहिलोपटकको स्टेज प्रस्तुति सम्झिए। १३ वर्षमै स्टेजमा गीत गाएका उनले ठूलै चुनौती भोगेका रहेछन्। विवेक भन्छन्, ‘पोखरामा सांगीतिक कार्यक्रम थियो। स्टेजमै उक्लिन डराउने उमेरमा गीत गाएको थिएँ।’ उनलाई अर्को चुनौती थियो, कसैले नसुनेको गीतमा दर्शकलाई कसरी आकर्षित गराउने!

कन्दरा भर्खरै जन्मिएको थियो। उनले ब्यान्डकै गीत गाउने निर्णय गरे। सुनिलले ‘आजभोलि रात ब्युँझिरहन्छ’ बोलको गीत सिर्जना गरे, विवेकले गाए। गीत गाएर निस्कँदा ‘यो फुच्चे पो? यसले आफ्नै गीत गाएछ’, भन्ने सुने। त्यसपछि पोखराभर उनको चर्चा भएछ। उक्त गीत रेकर्ड गरिएको छैन।

त्यसपछि उनको सम्झनामा आइरहने अर्को स्टेज प्रस्तुति हो बुटवलको। ‘लेककी हे माया’ बोलको गीत चर्चित भइसकेको थियो। सन् १९९७ मा बुटवलमा आयोजित उनको दोस्रो प्रस्तुतिमा गाउनेमा १७/१८ वर्षका विवेकमात्र थिए। उक्त कन्सर्ट हेर्न दर्शकको ओइरो लागेपछि एकै दिन दुईपटक कन्सर्ट गरेको स्मरण उनीसँग ताजै छ।

‘दिउँसो ११ बजेको कन्सर्ट थियो। सबै टिकट बिक्री भएछ। अहिलेजस्तो ओपन कन्सर्ट हुँदैनथ्यो। सभागृहमा सीमित सिटमा प्रस्तुति दिनुपर्थ्यो। दर्शक धेरै। आयोजकले अर्को प्रस्तुति पनि गरिदिनुपर्‍यो भनेर प्रस्ताव गर्नुभयो। अर्को कन्सर्ट ५ बजेका लागि राखियो। एकै दिन १६/१६ गरी ३२ गीत गाउनुपर्ने भयो। भदौको गर्मी। ४० डिग्री थियो होला। स्टेजमा ठूलाठूला पंखा राखिएका थिए। बुटवल उद्योग वाणिज्य संघको हलमा गोडा टेक्ने ठाउँ पनि थिएन। हलमा थेग्न गाह्रो भएपछि प्रशासनले कन्सर्ट बन्द गरिदिएको विवेक सुनाउँछन्।

स्टेज प्रस्तुतिबारे प्रशिक्षण नलिए पनि पहिलोपटक पाएको दर्शकको माया र हौसला सम्झँदा उनी भावुक बने। विवेकले भने, ‘त्यतिबेलादेखि हो मभित्रको डर कोसौँ भागेको।’

कन्दराको पहिलो गीत ‘चञ्चले कान्छी’ हो। सन् १९९५ मा सार्वजनिक गीतले उतिबेला निकै चर्चा पाएको थियो। त्यसपछि कन्दराले ‘लेककी हे माया’, ‘तिमी पारि’, ‘बिदेसिएर गइन् उनी’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’ , भेडी गोठ’ र ‘बिचरा म’ मार्फत कन्दरा नेपाली संगीतलाई विश्वसामु चिनाउने काममा सफल भयो। कन्दराले आफूलाई लोकपप जनरा भनेर चिनाएको छ।

‘लेककी हे माया’ गीतले चर्चित ब्यान्ड ‘हङकङ पोखरा’दर्शकको रोजाइमा परेपछि देशविदेश भ्रमणले भ्याइनभ्याइ थियो। पिक समयमा पुगेको कन्दरा पनि केही समय सेलाएकै हो।

कन्दराका सिर्जनाप्रति दर्शकको माया भए पनि पहिलेजस्तो सबै कुरामा सहज नभएको विवेकको अनुभव छ। उनी भन्छन्, ‘अहिलेको समय हामी कन्दराको भर्जन २ भन्छौँ। दोस्रो कालखण्ड पहिलोजस्तो सजिलो हैन हाम्रो लागि। संगीतका प्रविधि परिवर्तन भएको छ।

दर्शकको स्वाद र बजार पनि पहिलाजस्तो छैन। नयाँ प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्न खोजिरहेकै उनले बताए। विवेक प्रफुल्लित हुँदै भन्छन्, ‘३ दशकको गीत भए पनि उहाँहरुले सुनिरहनुभएको छ। हाम्रो समयका दर्शकले आफ्नो बच्चालाई पनि संगीत सुनाउनुभएको रहेछ। एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएको रहेछ। हामीले पाएको पनि यही हो।’

तीन दशक पुरानो गीतमा पनि नवपुस्ताको उस्तै क्रेज

३० वर्षपछि विवेकले काठमाडौँमा गीत गाउँदा दर्शक उनीसँगै गीत गाएर रमाउँथे। उनले प्रश्न गरे, ‘नाइन्टी र नाइन्टिनका दर्शकबीच कन्दराका गीतको कनेक्सन कस्तो होला?’ उनका अनुसार कन्दरालाई आफ्नो उत्पादन केही फरक छ भन्ने लागिरहेको थियो। अहिले कन्दराले कन्सर्टपछि दर्शकबाट पाएको प्रतिक्रियाबाट टिम नतमस्तक बनेको छ।

दर्शकको क्रेज देखेर नसोचेको माया पाइरहेको अनुभव विवेक सुनाउँछन्, ‘लामो समय भयो कन्दराको विरासत। नयाँ पुस्ताले जुन रूपमा त्यो आत्मीयता देखाउनुभयो। त्यो हामीले अपेक्षा गरेभन्दा निकै माथि पायौँ।’

दर्शकले तीन दशक पुरानो गीत हो भन्नेसँग मतलब नराखेको बुझाइ उनको छ। उनले भने, ‘९० को दशकमा चलेका गीत तीन दशकपछिका भाइबहिनीले लिरिक्ससहित गाएको देख्दा हामी दंग छौँ। कतिपय भाइबहिनीले हाम्रो गीत पहिलोपटक सुनेका होलान् तर उनीहरू कनेक्ट भएर वान्स मोरको हुटिङ आएको हो।’

कन्सर्टपछि सामाजिक सञ्जालमार्फत प्राप्त नयाँ दर्शकको प्रतिक्रिया र हौसला स्वागतयोग्य रहेको विवेकले बताए। उक्त कन्सर्टबाट जुनसुकै पुस्ताले पनि नेपाली मौलिक परिवेशको गीत सुन्ने रहेछन् भन्ने आभास गराएको छ।

आफैँसँग मख्ख हुन्छन् विवेक

स्टेजमा गीत गाउँदा आफैँ दंग पर्ने विवेक बताउँछन्। उनी त्यो विवेक अर्कै जस्तो ठान्छन्। संगीतलाई जीवनको उद्देश्य मान्ने विवेक भन्छन्, ‘स्टेज उक्लेपछि मनमा जे–जे आयो त्यही दर्शकमाझ अभिव्यक्त गर्छु। कन्सर्ट सकेपछि आफ्नो भिडियो हेर्छु। अनि आफैँ दंग पर्छु। त्यो विवेकलाई अर्कै रूपमा देख्छु। त्यो मलाई थाहा हुन्न।’

आफ्नो ध्यान श्रोतादर्शक कसरी आकर्षित गर्ने भन्नेमात्र हुने उनले बताए। विवेक भन्छन्, ‘कहिलेकाहीँ त म बिरामी छु भन्ने पनि थाहा हुन्न। स्टेजको विवेक, गीत रेकर्ड गर्दाको विवेक र यसरी भेट्दाको विवेक तीन रूपझैँ लाग्छ।’

लाइभ कन्सर्टको सबैभन्दा महत्त्वपूर्ण पक्ष दर्शकसँग जोडिनु हो। ‘घरमै रेडियो, मोबाइलमा गीत सुन्न र हेर्ने सक्ने गीत टिकट काटेर कन्सर्टमा आउनु भनेको हामीबीचको उहाँहरूसँगको कनेक्टिभिटी हो,’ विवेक भन्छन्, ‘साहित्यिक कार्यक्रम होस् कमेडी होस् या हामीले गाउने गीत। त्यहाँ पहिलोपटक दर्शकले हेर्ने भनेको हामीसँग कतिको कनेन्ट हुनुहुन्छ भन्ने हो। स्टेजमा व्यक्तिगत, पारिवारिक कुरा भनेर होस् या जोक्स भनेर दर्शकलाई कनेक्ट गराउने जिम्मा कलाकारको हुनुपर्छ।’

स्टेजका कलाकारले दर्शक कनेक्ट गर्न नसकेसम्म साढे २ घण्टा सुनेर बस्ने अवस्था हुँदैन। स्टेज चढेपछि दर्शकलाई कनेक्ट गराउने कुरा मनमा स्तस्फूर्त आउने विवेक बताउँछन्। उनी भन्छन्, ‘मेरो कर्म र मैले गर्न जानेको यही हो।’

ब्यान्ड चलायमानको रहस्य

कन्दराजस्तै नेपालमा सांगीतिक ब्यान्ड थुप्रै छन्। नेपथ्य, १९७४ एडी, मंगोलियन हार्ट, सिजन्स, कुटुम्ब, लेकाली, बफिन्स ९८, कर्मा, एक्सिसलगायत। कुनै समय निकै चर्चामा रहेका ब्यान्ड अहिले कम सक्रिय छन्। कतिपय ब्यान्ड पलायन भइसके।

लामो समयको अन्तरालमा एउटा गीत निकाल्छन्, पुनरागमनको आसमा फेरि सेलाएका उदाहरण छन्। यी ब्यान्ड चर्चामा रहँदा नेपाली गीतसंगीतको सीडी र डीभीडी बिक्री हुन्थे। गीत रेकर्डिङ सीमित ठाउँमा हुन्थे। समय र प्रविधिले कोल्टे फेरेको छ। रेडियो र टीभी हुँदै व्यक्तिगत युट्युब च्यानलबाट गीत निकाल्ने क्रम बढेको छ। आफ्नै रेकर्डिङ स्टुडियो, आफैँ गाउने, भिडियो खेल्ने, गीत लेख्ने संगीतकारको वर्चस्व छ।

समयअनुसार संगीत र दर्शकको रोजाइ पनि परिवर्तन हुँदै जान्छ। विवेक भन्छन्, ‘अहिले संगीतमा विविधता छ। लोकदोहोरी, र्‍याप, सोलो, रक, पप, मेटललगायत संगीतको फरकफरक जनरा छ। दैनिक सयौँ गीत सार्वजनिक हुन्छन्। कुन गीत दर्शकको नजरमा पर्छ भन्ने यकिन गर्न कठिन छ। धेरै कलाकार सोलो आर्टिस्ट बनेर देशविदेशमा चल्तीका गीतलाई मेला महोत्सवमार्फत गुञ्जायमान बनाइरहेका छन्।

९० को दशकदेखि सुरु भएको सांगीतिक ब्यान्ड निर्माणको लहड छ। पहिले जसरी गीतसँगै ब्यान्ड चल्न सकेको छैन भने कतिपय ब्यान्डका कुन गीत आए गए भन्ने दर्शकले भेउ पाउन मुस्किल छ। यसैबीच एलिमेन्ट्स, बत्तीमुनिको अँध्यारो, अल्बाट्रस, फिरन्तेलगायत केही ब्यान्ड छन्।

ब्यान्डको होस् या एकल अहिले चलेका गीत युवाकेन्द्रित जस्तो देखिन्छ। युवा गायक र दर्शक/श्रोताको संयोजन मिलेकाले सर्जकले उनीहरूलाई लक्षित गरेर गीत निकालिरहेको हुन सक्ने विवेक बताउँछन्। ‘हाम्रो ब्यान्डको गीत कुनै पुस्तालाई लक्षित छैन। नयाँपुराना सबै गीत बाजेदेखि नातिपुस्ताले सुन्न सक्छन्। कुनै छेकबन्दी छैन,’ विवेक भन्छन्। अहिले बजारमा आएका गीत हेर्दा ‘सेलिङ पोइन्ट’ युवापुस्ताकेन्द्रित जस्तो लाग्छ उनलाई।

ब्यान्ड चलायमान राख्न उत्पादन अथवा सिर्जना, अनुशासन र दर्शकसँगको कनेक्सन दिगो बनाउन सक्नुपर्ने विवेकको सुझाव छ। उनी आफू १४ वर्षबाहिर बस्दा पनि कन्दराको सिर्जनाकै कारण नवपुस्ताले साथ दिइरहेको बताउँछन्। ब्यान्ड टिक्ने मुख्य आधार भनेकै सिर्जना दीर्घकालीन छ–छैन भन्ने हो। त्यस्तै ब्यान्डको अनुशासन, उद्देश्य र अस्तित्व जोगाउन सकेमा संगीत र ब्यान्ड दुवै पुस्तौँपुस्ता हस्तान्तरण हुन सक्ने धारणा राख्छन् उनी।

‘म १४ वर्ष विदेश बस्दा पनि हाम्रो सिर्जना दर्शकले नसुनेको भए कन्दरा जिउँदो रहने थिएन। हामीले उत्पादन गरेको सिर्जना टिकेकै कारण कन्दरा छ,’ उनी भन्छन्, ‘अर्को कुरा ब्यान्डको डिसिप्लिन। संगीतमा सोखका रूपमा लागेको कि व्यावसायिक भन्नेमा पनि फरक पार्छ। सोखमात्र हो भने लामो समयसम्म टिक्दैन।’ उनी नयाँ पुस्तालाई सोख होइन जीवनको उद्देश्यका रूपमा ब्यान्ड र संगीत दुवैलाई लिन सल्लाह दिन्छन्।

‘ब्यान्ड भनेको परिवार हो। त्यहाँ काम गर्ने सबै परिवारका सदस्य हुन्। परिवारमा म एकलौटी खान्छु र एक्लै गर्छु भन्ने सुविधा पनि हुन्छ तर ब्यान्ड भइसकेपछि परिवारलाई मिलाउन ब्यान्डकै हिसाबले काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘यात्रा गर्ने क्रममा सदस्यहरु आउने जाने काम भइरहन्छ तर ब्यान्डको ब्रान्डको मूल्य मर्न दिनुहुन्न। ब्यान्ड उस्तै र जीवित रहने काम गर्नुपर्‍यो।’

संगीतको वातावरण पुरानो शैलीमा गइरहको भन्दै विवेक अबको संगीतयात्राको विकल्प ब्यान्डलाई देख्छन्। ‘संगीतको सबै पक्ष विकास गर्ने हिसाबले योगदान गर्नुपर्छ भनेर लाग्ने हो भने अबको विकल्प भनेको ब्यान्ड नै हो। संगीत पुरानो शैलीमा जाँदैछ। ट्रयाक बजाएर सुन्ने श्रोता बढ्न थालेका छन्।’

नेपालीपन झल्किनुपर्छ

जनजीवनमा भिजेका शब्दमार्फत हिमाल, पहाड, तराई, खोलानालाको धुन सुरमा प्रतिनिधित्व गरेकै कारण अन्यभन्दा कन्दराका गीत दर्शकलाई फरक लाग्ने विवेक बताउँछन्।

‘कतिपय सर्जकले गाउँमा पहिले चलेको गीतको परिस्कृत रूपलाई आफ्नो बनाएर गाएको हामीले सुन्न पाउँछौँ। सर्जक गाउँमा जानुहुन्छ र शब्द, संगीतमा संकलन गर्नुहुन्छ। यो नै हो बढी दर्शकले लोकगीतमा पाएको संगीत,’ विवेक भन्छन्, ‘हामीले कुनै गीतको कभर गरेका छैनौँ। लोकपप भन्नुको कारण गीत लोकशैलीको सुनिन्छ। हाम्रो गीतमा लोक जनजीजवनमा भिजेका शब्द छन्।’

उनले भनेजस्तै कन्दराका गीतमा तगारो, लेकबेँसी, हिमाल, गुन्द्रुक, मकैजस्ता शब्दको प्रयोग भएका छन्। बाजामा मादल, बाँसुरी, सुरहरुमा खेत जोत्दै गर्दा, धान दाइँ गर्दा, घाँस काट्न जाँदा आउने संगीत, खोला सुसाइरहँदा एक गाउँबाट अर्को गाउँमा बोलाइएको ध्वनिजस्ता सुरलाई ड्रम, गितारमार्फत कन्दराले प्रतिनिधित्व गर्दै आएको छ।

नेपाली जनजीवन र मौलिकपन झल्किने शब्द र संगीतकै कारण नवपुस्ता पनि कन्दराको गीतसँग परिचित छन्। कतिपय रियालिटी सोहरुमा कन्दराको गीत प्राथमिकतामा परिरहन्छ।

संगीतलाई रेसको घोडा बनाउन चाहने सर्जकले आफ्नो सिर्जनामा नेपालीपन राख्नुपर्ने विवेक बताउँछन्। कन्दराले आफ्नो उत्पादनमा नेपालीपनलाई जोडिरहेकै कारण तीन दशकको यात्रा पार गर्न सफल भएको उनको दाबी छ। ‘नेपालीहरू संसारको जुनसुकै कुनामा गए पनि उनीहरू नेपाली गीत सुन्छन्। गीतमा उनीहरूलाई नेपालीपन चाहिन्छ। त्यसैले हामीले संगीतमा नेपालीपन खोज्नुपर्छ,’ उनले भने।

अहिले कस्तो नेपाली संगीत चलिरहेको छ भन्न अलमल रहेको विवेकले बताए। ‘बजारमा के ट्रेन्ड चलिरहेको छ भन्न मुस्किल छ। बजारमा चलेका गीतको आयु पनि छोटो छ। एक महिनाअघि मिलियन भ्युज पुगेको गीतको शब्द अर्को महिना दर्शक/श्रोताले कुन गीत रे भन्ने अवस्था छ। तीन सेकेन्डभित्र उनीहरूलाई होल्ड गर्न सकिएन भने त्यो गीत आयो–गयो पत्तै हुन्न,’ विवेक भन्छन्, ‘पहिले एउटा गीत चलेको छ भन्दा आत्मामै बगेको हुन्थ्यो। बाथरुमदेखि भिरपाखामा घाँस काट्नेहरू पनि त्यही गीत गुनगुनाउँथे।’

गीत मापन गर्ने अहिलेको आधारलाई दर्शकले पनि बुझ्न जरुरी रहेको विवेकको सुझाव छ। उनको प्रश्न छ, युट्युबमा किनबेच गर्न सकिने भ्युजलाई लोकप्रिय मान्ने कि, दर्शक/श्रोताले कति समयसम्म त्यो गीत सुने र स्टेजमा गाइरहँदा सँगै गाए भन्नेलाई?’

विवेक अचेलको संगीतमा रियल म्युजिक एक्सेस हराइरहेको त छैन भन्ने प्रश्न उब्जिएको बताउँछन्। कन्दरा भने पुरानै शैलीलाई निरन्तरता दिने पक्षमा छ। नेपाली संगीतको संख्यामात्र नभएर गुणलाई पनि ध्यान दिनुपर्ने उनको धारणा छ। ‘हामीले खोज्ने भनेकै संगीतमा नेपालीपन हो। र्याप र पश्चिमा संस्कृतिको अवलम्बन गरेर विकृतिजन्य लोकगीतमा नेपालीपन झल्किँदैन। संगीतमा विकृति हुन नदिन हामी जिम्मेवार हुनुपर्छ र नयाँ पुस्तालाई आह्वान  गर्नुपर्छ।’

कन्दराको जति पनि गीत चल्यो त्यो समयमा क्यासेट बिक्री हुन्थ्यो। तर अहिले युट्युबको समय छ। जति भ्युज र टिकटक रिल बन्यो त्यसबाट नै गीत चलेको भनेर मानिन्छ।

गीतमा अर्गानिक शब्द र नेपाली सुगन्धका साथै उक्त गीत आत्मासँग कनेक्ट हुनुपर्छ भन्ने कन्दराको धारणा छ। अन्य संगीतकारले पनि यिनै कुरालाई ध्यान दिएर काम गर्ने हो भने भ्युज र पफर्मेन्स गर्नेतिर लाग्न नपर्ने विवेकको सुझाव छ।

‘म्युजिक भनेको कलाको सबैभन्दा क्युरेस्ट फम हो। बजारको मागअनुसार चलाउनु भनेको छोटो समयका लागि हो। त्यसमा राम्रो आम्दानी पनि होला। स्टारडम पनि बढ्ला तर कति दीर्घकालीन हुने भन्ने कुरा महत्त्वपूर्ण हो। कन्दरा त्यो क्षणिक हुने दौडमा छैन,’ उनी भन्छन्।

संगीत, कला साहित्य भनेको पुस्ता हस्तान्तरणको चिज हो। कलाकारले कोरेको चित्र बुझ्न इन्टेलेक्टको जरुरत पर्छ। कविता बुझ्न केही पढेको हुनुपर्छ। संगीत भने आमाको पेटमा भ्रूणावस्थामा भएको बच्चाले पनि बुझ्छ। उनले भने, ‘हामीले अब आउने नयाँ पुस्तालाई के हस्तान्तरण गर्ने र पछिको पुस्ताले के लिने त? यो कुरामा ध्यान दिन जरुरी छ।’

दर्शककै मायाले चिनाएको कन्दराले आफ्नो कर्तव्य सम्झेर केही नयाँ काम गर्ने अवसर मिलेको ठानिरहेको छ। ‘जिम्मेवारी पूरा नगरी काहाँ मर्न सक्छु र?’ विवेक भन्छन्।

‘पहिला घरदेश अनि परदेश’ को नारासहित कन्दरा अहिले विश्व भ्रमणमा छ। १० वर्षदेखि निरन्तर कन्दरा सांगीतिक प्रस्तुति र नयाँ संगीत ल्याउन व्यस्त छ। कोरोनापछिको दोस्रोपटक विश्व भ्रमण रहेको कन्दरा सन् २०२४-०२५ मा नेपालसहित युरोप, बेलायत, दुबई, जापान, अस्ट्रेलिया, अमेरिका र क्यानडा चर्चित सहरमा गुञ्जिनेछ।

प्रकाशित: १५ मंसिर २०८१ १८:२५ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast