दुर्गा प्रसाई. फाइल तस्बिर।
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिट निवेदन खारेज भएको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट निवेदन खारेज गरेको हो। मेडिकल व्यवसायी प्रसाईं साइबर अपराधको कसुरमा पक्राउ परेका हुन्।
रिट खारेज भएसँगै प्रसाईं तत्काल रिहा हुने सम्भावना अन्त्य भएको छ। सर्वोच्चले रिट निवेदन खारेज गर्दै छिटो अनुसन्धान गरेर टुङ्गो लगाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौँ जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
प्रसाईंले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘गलत कागजात’ सार्वजनिक गरेका थिए।
आइतबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।


