यतिखेर नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ। नेपाली उपभोक्ताले सुनको मूल्य प्रतितोला दुई लाख रुपैयाँसम्म पुग्ने आकलन गरेका थिए। अहिले तिनै उपभोक्ता सुनको मूल्य घट्छ र खरिद गर्ने भनेर ‘पर्ख र हेर’ को अवस्थामा छन्। व्यवसाय चलायमान छैन। बिहेको सिजन आए पनि उपभोक्ता सुन खरिद गर्न आएका छैनन्।
सुनचाँदीको मूल्यमा उतारचढावका कारण विभिन्न छन्। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्नासाथ त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिन्छ। हाल अमेरिकी अर्थतन्त्रको मजबुती र अमेरिकी डलरको मूल्यवृद्धिले सुनको मूल्यमा गिरावट ल्याएको छ। डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपति हुनेबित्तिकै अर्थतन्त्रमा प्रभाव पर्यो।
अमेरिकी फेडरल रिजर्भले ब्याजदर उच्च राखिरहेको छ जसका कारण लगानीकर्ता सुरक्षित सम्पत्ति (जस्तै : अमेरिकी डलर वा सरकारी बन्ड्स) मा ध्यान दिन थालेका छन्। यसले सुनको मागमा कमी ल्याएको छ।
सुनको मूल्यमा गिरावट आउनुको अर्को कारण नेपालमा डलरको विनिमय दरको प्रभाव पनि हो। नेपाली बजारमा सुनको आयातका लागि डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ। डलरको दर घट्दा सुनको मूल्य पनि घट्न सक्छ। पछिल्लो समय अमेरिकी डलर कमजाेर बन्दा सुनचाँदीको मूल्यलाई घटाउन मद्दत गरेको छ।
छिमेकी मुलुक भारतको नीति र मागले पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा प्रभाव पारेको छ। नेपालमा सुनचाँदीको मूल्य भारतको बजारसँग पनि सम्बन्धित छ। भारतमा सुनको माग घट्यो भने यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ। भारतले सुन आयातमा केही समयअगाडि कर घटाएको थियो जसले गर्दा सुनको मूल्यमा गिरावट आएको हुनसक्छ।
सुनचाँदीको मूल्यमा गिरावाट आउनुको भूराजनीतिक कारण पनि छन्। विश्वभरिका राजनीतिक घटनाक्रम मध्यपूर्वमा अस्थिरता, युक्रेन-रुस युद्ध, आदि पनि हुन्। हालका केही घटनाले सुनलाई ‘सुरक्षित लगानी’ का रूपमा हेर्ने प्रवृत्ति कम गरेको हुनसक्छ। अहिलेकै अवस्था रहेमा नेपाली बजारमा सुनको मूल्य पुससम्ममा प्रतितोला १ लाख ५५ हजारदेखि १ लाख ५० रुपैयाँसम्म पुग्न सक्छ।
सुनचाँदीको मूल्य बढेपछि नेपाली उपभोक्ताको मागमा पनि कमी आयो। दसैँ, तिहार, छठजस्ता चाडपर्वको सिजन सकिएपछि नेपाली बजारमा सुनको माग घटेको छ। जब माग घट्छ, आपूर्ति स्थिर भए पनि मूल्य घट्ने सम्भावना हुन्छ।
[नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष एवम् नेपाल सुनचाँदी रत्न आभूषण महासंघको केन्द्रीय कोषाध्यक्ष लकान्द्रीसँग कुराकानीमा आधारित।]

                                             
                                             
                                             
                                             
                                             

