 
                             
                                            कैलाली- कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन्।
त्यसमध्ये एक हुन् कैलालीको धनगढी उपमहानगरपालिका-६ मटियारीका रामआश्रय राना। उनले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए। रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए।
उनले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन्। ‘पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु। वर्षमा एक लाख पचास हजारको आलु मात्रै बिक्री गर्छु। गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए। यसपटक पनि राम्रै उत्पादन हुने आशा छ’, रानाले भने,‘छ जनाको परिवार छ। तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ। केही बचत पनि हुन्छ।’
उनले मौसमअनुसार तरकारी लगाउने गरेका छन्। सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए।
अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाइन्। उनले एक ‘सिजन’मा एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताइन्।
‘मैले पाँच कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ। आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ’, उनले भनिन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 