ट्रफी अनावरण समारोहमा खेलाडीमाथि प्रधानमन्त्रीले खर्चिएका शब्द

‘भुर्तेल ९९ मा आउट नहोऊन्, सोमपालले अर्को विश्वकप पनि खेलून्’

हिमाल प्रेस १० मंसिर २०८१ १३:५८ | Monday, November 25, 2024
‘भुर्तेल ९९ मा आउट नहोऊन्, सोमपालले अर्को विश्वकप पनि खेलून्’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण कार्यक्रममा क्रिकेटरको प्रशंसा गरेका छन्।

सोमबार ऐतिहासिक धरहरा परिसरबाट ओलीले खेलाडी सबैलाई जितको दिँदै एनपीएलले हौसला दिएको बताए। उनले विश्वभर छरिएर रहेका क्रिकेट प्रेमी मात्र होइन, अहिलेको पुस्ताले नेपाली खेलाडीको मेहनतलाई गौरवका साथ लिएको ओलीले बताए।

ओलीले नेपाली क्रिकेटका हरेक खेलाडी अब्बल रहेको दाबी गरे। उनले जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको भन्न भ्याए।

‘जनकपुर झैँ शान्त स्वभाव कायम रहोस्, आसिफ शेखलाई क्याप्टेन कूलको उपनाम दिनुपर्ला’ ओलीले भने, ‘काठमाडौँ गुर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन बोइ भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ, उनले राजधानीको नाम राख्ने आशा लिएको छु,’ ओलीले पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर विश्वले नै चिन्न नसकेको बताए। उनले भने,‘यसपालि ९९ मा आउट हुन नपरोस् शतक हान्नू,’ यसअघि जिम्बाबेविरुद्धको एक दिवसीय खेलमा भुर्तेल ९९ रनमा आउट भएका थिए।

कुशल मल्लको छक्का हान्ने शैली आफूलाई साह्रै मन पर्ने ओलीले बताए। ‘चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानो केटो, ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ, आखिर चितवन गैँडाजका कप्तान हो नि! थप चर्चा कमाउनू’, खेलाडीको प्रशंसा गर्दै ओलीले अगाडि भने, ‘लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ, रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्ने छ, जसले जिते पनि रोहितलाई फाइदा छ, आखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उनले जितेकै हुनेछन्,’ उनले विराटनगर किङ्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भएको दाबी गरे।

सन्दीपमा बीबीएलदेखि आईपीएलसम्म ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ ओलीले बताए। आफ्नो पुरानो भाषण सम्झँदै ओलीले भने,‘नेपालीले चान्स पायो भने गर्छ।’

कर्णाली याक्स्का सोमपाल कामीका ती यर्कर बललाई भुल्न नसक्ने भन्दै ओलीले प्रशंसा गरे। सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखिने छ, अर्को टी-२० विश्वकप खेल्ने तयारीमा जुट्ने आशा राखे।

ओलीले दीपेन्द्रसिंह ऐरीलाई नेपाली क्रिकेटको बाघको संज्ञा दिए। ‘अन्तिममा हिरोको पालो आउँछ, मेरो फेबरेट नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ, एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनुन्, सुदूरपश्चिम रोयललाई पनि विशेष शुभकामना छ’, ओलीले भने।

एनपीएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए। प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए।

‘खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन, खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ, सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु’, ओलीले भने।

नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई यो खेलले फेरि पनि स्थापित गर्ने ओलीले विश्वास व्यक्त गरे। ‘नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्, क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो’, ओलीले भने।

ओलीले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्त्वपूर्ण दिन भएको पनि बताए।

प्रकाशित: १० मंसिर २०८१ १३:५८ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast