 करण केसी
                             करण केसी
                                            काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले आइसिसी विश्वकप क्रिकेट लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल गुमाउने भएका छन्।
दुवैले चोटका कारण यो खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। उनीहरूको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ। देव ट्राभलिङ रिर्जभका रूपमा थिए।
अमेरिका शृंखलाको अन्तिम खेलमा नेपालले सोमबार स्कटल्यान्डको सामना गर्दैछ। खेल डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा नेपाली समयअनुसार राति १०ः१५ मा सुरु हुनेछ।
नेपाल जारी शृंखलामा दोस्रो जित निकाल्ने लक्ष्यमा छ। यसअघि अमेरिकासँग तीन विकेट र ३७ रनले पराजित भएको नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो।
यता स्कटल्यान्ड तेस्रो जितको लक्ष्यमा छ। स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो। नेपाल ११ खेलमा पाँच अंकका साथ सातौं स्थानमा छ। स्कटल्यान्ड १० खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा छ।
नेपाल र स्कटल्यान्डबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा सात खेल भएको छ। जसमा नेपालले चार र स्कटल्यान्डले तीन जित निकालेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 