 
                             
                                            काठमाडौँ- नेपाली कांग्रेसले आगामी उपनिर्वाचनमा दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ। कांग्रेसले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा बागमती प्रदेश महिला विभागकी सदस्य रहेकी पासाडिकी तामाङलाई उम्मेदवार बनाउने भएको जिल्ला सभापति बर्मा लामाले जानकारी दिए।
‘पार्टीले सर्वसम्मत तरिकाले पासाडिकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ’ उनले हिमालप्रेससँग भने। २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा यहाँ उपाध्यक्ष पदमा कांग्रेसकै श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए।
गत असारमा हृदयघातका कारण उनको निधन भएपछि मंसिरमा उपनिर्वाचन हुन लागेको हो। कांग्रेसले अहिले उनकै श्रीमती पासाडिकीलाई उम्मेदवार बनाउने भएको हो।यहाँ माओवादी केन्द्रका विश्वास कार्की गाउँपालिकाका अध्यक्ष छन्। त्यसबेला कांग्रेस-माओवादीको गठबन्धन हुँदा अध्यक्षमा कार्की र उपाध्यक्षमा तामाङ निर्वाचित भएका थिए।
तामाङ चार हजार सात सय ४१ मतसहित विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की उम्मेदवार मुना शिवाकोटीले तीन हजार दुई सय ८१ मत ल्याएकी थिइन्। यसपालि कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगरी आफ्नै उम्मेदवार चयन गरेको हो।
मंसिर १६ मा देशका विभिन्न स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। कांग्रेसले अन्य स्थानीय तहका लागि पनि उम्मेदवार चयन छिटै टुंग्याउने जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 