 
                             
                                            कवि भूपी शेरचनले ‘मेरो चोक’ शीर्षक कवितामा लेखेका छन्- ‘साँघुरो गल्लीमा मेरो चोक छ। यहाँ के छैन? सबैथोक छ। असंख्या रोग छ, अनन्त भोक छ, केवल हर्ष छैन, यहाँ त्यसमाथि रोक छ।’
सहरको गरिबीलाई बिम्ब बनाएर लेखिएको यो व्यंग्य कवितांश अहिले देशको गाउँसँग मेल खान पुगेको छ। त्यसैले अहिले भूपी हुँदा हुन् त लेख्थे होलान्, गाउँमा के छैन? सबैथोक छ, अनुत्पादन छ, जनशक्ति अभाव छ, युवा पलायन छ, त्यहाँ उनीहरूलाई बस्न रोक छ। त्यसैले गाउँमा सबथोक छ।
बाले घरअगाडि सार्नुभएका बोटमा लटरम्म सुन्तला फलेका छन्। कतिपय बोट बाजस्तै बूढा भए। आमाले स्याहारेका घर घरजस्ता छैनन्। आँगन बुट्यानले ढाकिसके। बलेसी मक्किएका छन्। मझेरीमा झार उम्रन थालेका छन्। फलैँचाका फलेक उहिल्यै फुक्लिए। धुरीखाँबो धरमर छ। डाँडाभाटा कतिखेर खस्छन् थाहा छैन। मानिसलाई आश्रय दिने घर आफैँ आश्रयको खोजीमा छ- मर्मतसम्हार र लिपपोतको पर्खाइमा छ। कतिपयका घर त भत्किसके।
गाउँ कुनै बेला आत्मनिर्भर थियो। उत्पादन भएका अन्न, दूध, फलफूल प्रायः बाहिर जाँदैनथ्यो। नुनतेल र लत्ताकपडाका लागि तिनै उत्पादन बेचेर गर्जो टारिन्थ्यो। चाडपर्व, विवाह-व्रतबन्ध, कसैको मृत्यु हुँदा पूरै गाउँ एकजुट भएर अघिपछि लाग्थ्यो। त्यसैले गाउँ गुल्जार थियो। थिएन त केवल भौतिक विकास।
भौतिक विकास सडक, बिजुली, टेलिफोनसँगै मानिसका चाहना बढ्न थाले। युवा पुस्ताले अवसर र उच्च शिक्षाका लागि गाउँ छाड्न थाले। माओवादीले २०५२ सालमा सशस्त्र युद्ध थालेपछि कतिपय युवाले ज्यान जोगाउनकै लागि घर छाडे। शैक्षिक बेरोजगारी बढ्दै गयो। युवालाई लक्षित गर्दै सरकारले विभिन्न देशसँग श्रम सम्झौता गरेपछि युवाहरू बिदेसिने क्रम बढ्यो। गाउँ छाड्नेको हूल बढ्दै गयो, फर्कने कोही हुँदै भएन।
अहिले गाउँ भन्नु बाआमा मात्रै भएको छ। बाआमा अशक्त हुँदै गएका छन्। खेतबारी बाँझै छन्। घरमा धानको भकारी र मकैको कुन्युँ हराउँदै गएका छन्। परनिर्भरता बढ्दै गएको छ।
गाउँलेको भान्सामा एलपी ग्यासको सिलिन्डर छन्। दाउरामा भात पाक्न छाडेको छ। गोरु पाल्नेहरू पनि क्रमशः घट्न थालेका छन्। खेत जोत्न ट्याक्टरको प्रयोग हुन थालेको छ। पालिका र वडा कार्यालय भवन सुविधासम्पन्न र लोभलाग्दा छन्- सेवाग्राही निकै सीमित। विद्यालय भवन अत्याधुनिक छन्। विद्यार्थीको अभाव छ। घरहरू रित्तिएपछि गाउँको नाम मात्र बाँकी छ। झट्ट हेर्दा गाउँमा सबैथोक छ मान्छेबाहेक। यहाँनेर ललितपुरको बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनको भनाइ सान्दर्भिक हुन्छ, ‘विकास भएन भनेर टोलटोलमा बाटो पुर्याइदिएको त अधिकांश गाउँले झिटीगुन्टा बोकेर बसाइँ हिँडे।’ हुन पनि गाउँबाट सहर, सहरबाट विदेश जाने शृंखला रोकिएको छैन।
गाउँ फर्किने र छाड्नेहरू
गोरखा अजिरकोट-३ का डोलबहादुर थापा तीन दशक भारतमा रोजगारी गरेर फर्किए। आमाको निधनपछि थापा गाउँमै छन्। धान उब्जाएका छन्। बाख्रा पालेका छन्। उनी सन्तुष्ट छैनन्। असन्तुष्टिको कारण हो, गाउँ गाउँजस्तो रहेन। उनी भन्छन्, ‘बिरामी हुँदा गाह्रो भयो। सहयोग गर्ने छैनन्। नजिकै राम्रो अस्पताल छैन। यहाँ किन बस्ने?’ फेरि भारत फर्किन चाहेको उनले बताए।
पाँच वर्ष मलेसियामा रोजगारी गरेर गाउँ फर्किएका अजिरकोट-३ कै मानबहादुर सुनारले दुःखजिलो गरेर घरघडेरी जोडे। खेतीकिसानी गरिरहेका उनलाई गाउँमा बस्ने इच्छा छैन। उनी फेरि बिदेसिन खोजेका छन्। उनको पनि समस्या त्यही हो, आफ्ना दौँतरी गाउँमा भेटिँदैनन्।
एक दशक चितवन बसेर गाउँमा फर्किएका मोहन अधिकारीले गत असारमा वर्षौँदेखिको बाँझो खेत जोतेर धान रोपे। धान फलाए पनि। गाउँको जीवन उनलाई उराठ लाग्न थाल्यो। मोहन अहिले रोजगारी खोजिरहेका छन्। उनले भने, ‘काठमाडौँमा कुनै बोर्डिङ स्कुलमा अंग्रेजी शिक्षक चाहिए खबर गर्नु है, बीए पास गरेको छु।’
अजिरकोटकै रुद्र दवाडीका छोराहरू विदेशमा छन्। वैदेशिक रोजगारीको कमाइबाट सहरमा जग्गा जोडेका उनीहरू पनि गाउँ छोड्ने तयारीमा छन्। दीननाथ दवाडीका छोरा रमेश दशकअघि चितवन बसाइँ गए। गाउँमा उनको प्रशस्त खेतबारी छन्। कुलामुनिको खेत जंगलमा परिणत भएको छ। गाउँको एक्लो घरले उनलाई कुरिरहेको छ। उनी फर्कने टुंगो छैन।
बसाइँ सराइले गोरखाको पालुङटार नगरपालिका-४ मा एउटा गाउँ रित्तिसक्यो। हात्तीगौँडा-धारापानी सडकमा पर्ने गाउँमा केही घरमात्रै छन्। गाउँ जंगलले ढाकिसक्यो। धेरै गाउँको वास्तविकता हो यो।
धेरैजसो युवा रोजगार खोज्दै सहर र विदेश गएका छन्। विदेश गएर फर्केका अधिकांशले केही समय गाउँमा बिताउँछन्। आम्दानीको स्थायित्व हुँदैन। उनीहरू विरक्तिन्छन् अनि विदेश जाने योजना बनाउँछन्। गाउँमा रोजगारीका अवसर सीमित छन्। खेतीकिसानीमा लाग्दा तत्काल आर्थिक फाइदा नहुने भएकाले फेरि विदेश रोजेको उनीहरूको भनाइ छ। परिणामस्वरूप गाउँमा वृद्ध र बालबालिका मात्र छन्।
युवा जनशक्ति विदेशमा हुँदा गाउँको विकास सम्भावना पनि कमजोर भएको छ। गणित, विज्ञान पढेका जनशक्ति त गाउँमा बस्नै रुचाउँदैनन्। सामुदायिक विद्यालयमा यी विषयका लागि पटकपटक विज्ञापन गर्दा पनि शिक्षक नपाएका घटना धेरै छन्।
आफ्नै स्वार्थमा जनप्रतिनिधि र नेता
देशको राजनीतिक प्रणाली र संस्कृतिमा केही पुराना समस्या गहिरिएर बसेका छन्। केही नेता र जनप्रतिनिधिमा नैतिकता र जिम्मेवारीको अभाव छ। धनताको सेवाभन्दा व्यक्तिगत फाइदा र सत्तामा टिकिरहने सोच धेरैमा छ। जनप्रतिनिधिमा पारदर्शिता र जवाफदेहीताको कमी, भ्रष्टाचार र सत्ता केन्द्रित सोचबाट पनि प्रभावित भएको देखिन्छ।
अहिलेकै अवस्थामा गाउँमा केही गरौँ भन्दा झट्टै आँट आउँदैन। स्थानीय सरकारले पनि युवा पुस्तालाई गाउँमै टिकाइराख्न कुनै योजना ल्याउन सकेका छैनन्। त्यसैले अधिकांश मानिसको प्रश्न हुन्छ- गाउँ किन फर्किने? तीनै तहका सरकारसँग यसको उत्तर छैन। न योजनाको स्पष्ट खाका। त्यसैले युवालाई गाउँ फर्काउन प्रोत्साहित गर्न ठूला योजना बनाउन जरुरी छ।
शिक्षा, स्वास्थ्य, यातायातको सुविधा सुधार गर्नु र युवालाई कृषि, पर्यटन तथा साना उद्योगमा संलग्न गराउने कार्यक्रम ल्याउनुपर्छ। कृषि, पशुपालन, हस्तकला र पर्यटनमा लगानी बढाउनुका साथै गाउँमा आवश्यक शिक्षा र स्वास्थ्य सेवा पुर्याउनु ढिलाइ गर्नु हुँदैन।
अर्को कुरा, सहकारी संस्थाहरूलाई ग्रामीण क्षेत्रमा प्रोत्साहन गर्न सकिन्छ जसले युवालाई साना व्यवसाय सुरु गर्न सहयोग पुर्याउँछ। गाउँमा राम्रो इन्टरनेट सुविधा भएमा युवाले डिजिटल कामहरू पनि गाउँमै बसेर गर्न सक्छन्। जबसम्म गाउँमा काम गर्ने अवसर, राम्रो शिक्षा, स्वास्थ्य सेवा र यातायातको सुविधा हुँदैन तबसम्म मानिसहरूको बसाइँ सर्ने सोचाइ परिवर्तन गर्न गाह्रो हुन्छ।
गाउँमा बसेर धेरै महत्त्वपूर्ण काम गर्न सकिन्छ। खेतीपातीलाई आधुनिक बनाउने, कृषि उद्यम, पर्यटन व्यवसाय, साना उद्योगहरू र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने जस्ता कामहरू गर्न सकिन्छ। दुग्ध व्यवसाय, बाख्रापालन, माछापालन र जैविक कृषिजस्ता कार्य गर्न सकिन्छ। त्यस्तै, होमस्टे र ग्रामीण पर्यटनमा काम गर्न सकिन्छ जसले गाउँको संस्कृति र जीवनशैलीलाई देखाउन मद्दत गर्छ। गाउँमा सिँचाइ सुविधा भएर पनि अहिले धेरै ठाउँमा खेतीयोग्य जमिन बाँझो र जंगलमा परिणत हुँदै गइरहेको छ।
सिचाइँ अभाव र कृषि प्रविधिको विकास नहुनुले खेती गराउन कठिन भएको छ। यसका लागि स्थानीय समुदाय, सहकारी संस्था र सरकारबीच सहकार्य जरुरी छ। सिँचाइका लागि ठूला परियोजनाभन्दा पनि स्थानीय स्तरमा कुलो पुनस्र्थापना, साना सिँचाइ प्रणालीहरू विकास गर्न सके खेती पुनर्जीवित गर्न सकिन्छ।
कृषिमा आकर्षण बढाउन अनुदान, कृषि सामग्रीमा सहुलियत र आधुनिक प्रविधिको प्रयोगमा जोड दिन सकिन्छ। गाउँको बस्ती फस्टाउनको लागि स्थानीय युवाको सहभागिता, आत्मनिर्भरताको प्रवद्र्धन र जैविक खेतीजस्ता उपायहरू अपनाउन सकियो भने दीर्घकालीन रूपमा खेती फस्टाउँदै जान सक्छ।
स्थानीयस्तरमै राम्रो रोजगारीका अवसरहरू, कृषिमा नवीनतम प्रविधिको प्रयोग, सहकारी प्रणालीको प्रवद्र्धन र व्यवसायिक खेतीमा लगानी गर्न सकियो भने विदेश जानु नपर्ने अवस्था बन्न सक्छ। यो सबैमा तालिम र ज्ञानको आवश्यकता हुन्छ। सरकारले सहयोग गरेमा र युवाले इच्छा राखेमा गाउँमै बसेर राम्रो भविष्य बनाउन सकिन्छ। सरकारले युवालाई गाउँमा काम गर्ने प्रेरणा दिन्छ भने गाउँ फेरि भरिभराउ हुन सक्छ।
गाउँमा भौतिक विकास हुँदै नभएको होइन। सडक निर्माण भएपछि धेरै गाउँ सहरसँग जोडिएका छन्। बिजुली बत्ती बलेको छ। टेलिफोनको सुविधा उपलब्ध छ। अस्पताल, शिक्षण संस्था, बजारको पहुँच पुगेको छ। वित्तीय संस्था विस्तारले आर्थिक कारोबार सहज भएको छ। प्रविधिको विकासले दुरदराजमा बसेका गाउँले बाहिरी संसारसँग जोडिएका छन्। गाउँमा सिंहदरबार पुगेको छ अर्थात् स्थानीय सरकार अधिकार सम्पन्न छ। गाउँमा सबैथोक छ- युवापुस्ता छैन। गाउँको भविष्य कोर्ने जनशक्ति नबसेपछि गाउँको भविष्य कस्तो होला?


 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 