केन्द्रसँग टोललाई जोड्दै चितवन कांग्रेस

हिमाल प्रेस ११ मंसिर २०८१ १५:०९ | Tuesday, November 26, 2024
केन्द्रसँग टोललाई जोड्दै चितवन कांग्रेस

चितवन- नेपाली कांग्रेसले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुुरु गरेको छ। केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरिएको हो।

नेपाली कांग्रेस केन्द्रको एक सयदिने विशेष अभियानअन्तर्गत सोमबारदेखि जिल्लाले खटाएका प्रतिनिधि वडावडामा पुगेर गतिविधि सुरु गरेका हुन्। जिल्ला सभापति राजेश्वर खनालका अनुसार सोमबार ६० भन्दा बढी वडामा प्रतिनिधि पुगेसँगै त्यहाँ बैठक बसेर अभियान थालेका छन्।

जिल्लाका ९८ वडामध्ये बाँकी वडामा यही मङ्सिर १५ गतेसम्म प्रतिनिधि पुगेर काम अघि बढाउनेछन्। यसअघि केन्द्रले खटाएका प्रतिनिधि मधु आचार्यले खटिने प्रतिनिधि र जिल्ला नेतासँग अन्तरक्रिया गरेर प्रतिनिधिले गर्ने कामका बारेमा प्रशिक्षण दिएको थियो। खनालले भने, ‘यो अभियानले टोललाई केन्द्रसँग जोड्नेछ।’

अभियानका क्रममा ५० प्रतिशत पार्टीका साङ्गठनिक कार्यक्रम र ५० प्रतिशत प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यक्रम गरिनेछ। अबका दिनमा कसरी पार्टीलाई आम नागरिकका सरोकारसँग जोड्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गराएर तल्लो तहसम्म सङ्गठन मजबुत बनाउन अभियान सार्थक हुने उनको भनाइ छ।

अभियान आगामी फागुन ७ गतेसम्म सञ्चालन हुनेछ। यस क्रममा जनताका गुनासो सुन्ने, सम्भव हुने गुनासाका सम्बोधन गर्ने लगायतका गतिविधिसमेत गरिनेछ। जनताका गुनासासँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने सभापति खनालको भनाइ छ।

कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास उनले व्यक्त गरे। गत असोज ६ गतेदेखि सुरु गर्न लागिएको अभियान बाढीपहिरोका कारण रोकिएपछि अहिले सुरु गरिएको हो।

प्रकाशित: ११ मंसिर २०८१ १५:०९ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast