काठमाडौँको होटलमा युवा युवती मृत भेटिए

हिमाल प्रेस ९ मंसिर २०८१ १३:१४ | Sunday, November 24, 2024
काठमाडौँको होटलमा युवा युवती मृत भेटिए प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँको एक होटलको कोठाभित्र महिला र पुरुष एउटै पासोमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार काठमाडौँ महानगरपालिका-९, सिनामंगल प्रकाश सन्न्यास आश्रम जाने बाटोस्थित होटल जन्मभूमिभित्र महिला र पुरुष एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

होटलको कोठा नम्बर १२० मा सुनसरी घर भएका अन्दाजी ३४ वर्षका रमेश माझी र मोरङ घर भएकी अन्दाजी वर्ष २९ की शर्मिला कुमारी माझी बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको उनले जानकारी दिए।

‘हामीलाई आज बिहान ७:३० बजे खबर आयो’, एसपी अधिकारीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’ प्रहरीका अनुसार उक्त होटल पर्शुराम आचार्यको पाँचतले घरमा खोटाङको दिक्तेल रुपाकोट नगरपालिका-४ घर भई हाल काठमाडौँकै काडाँघारी डेरा गरी बस्ने रामजी कटुवालले चौथो तलमा सञ्चालन गरेका छन्।

मृतक पुरुषको परिचय होटलको दर्ता किताबमा दर्ता गरेको नामबाट खुलेको हो भने महिलाको परिचयचाहिँ पासपोर्टबाट खुलेको प्रहरीले जानकारी दिएको छ। उनीहरूले होटलको १२० नम्बरको कोठा शनिबार बेलुका ६:४५ बजे बुक गरेको खुलेको छ।

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ तथा अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले बताए। घटनाबारे विस्तृत विवरण खुल्न बाँकी छ।

प्रकाशित: ९ मंसिर २०८१ १३:१४ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast