उत्तरपुस्तिका परीक्षणमा लापरबाही नगर्न बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण

हिमाल प्रेस २६ कार्तिक २०८१ १३:५९ | Monday, November 11, 2024
उत्तरपुस्तिका परीक्षणमा लापरबाही नगर्न बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष शर्माको ध्यानाकर्षण गराइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले जानकारी दिए।

खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियुले घटनामा सङ्लग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ।

तिमिल्सिना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो। परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागि निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थीमध्ये आठ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ।

तीमध्ये दुई सय विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेका सङ्गठनले जनाएको छ। विज्ञले पुनःपरीक्षण नगर्न दबाब दिँदादिँदै १६ जना विद्यार्थीले पुनःपरीक्षणका लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्याङ्कलाई हेर्दा उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ।

यसले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाले लापरबाही गरेको देखिएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ।

प्रकाशित: २६ कार्तिक २०८१ १३:५९ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast