अरविन्द ठाकुरले देखेका सपना साकार पार्नुपर्छ : देउवा

हिमाल प्रेस १० मंसिर २०८१ १६:३६ | Monday, November 25, 2024
अरविन्द ठाकुरले देखेका सपना साकार पार्नुपर्छ : देउवा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका दिवंगत नेता अरविन्द ठाकुरले मुलुकका लागि देखेका सपना साकार पार्न सबै लाग्नुपर्ने बताएका छन्।

सोमबार जनकपुरधाम उपमहानगरपालिका–२५ मा दिवंगत नेता ठाकुरको शालिक अनावरण कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन्।

उनले ठाकुरले मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि देखेका सपना सबैले मिलेर पूरा गर्नुपर्ने उल्लेख गरे।

‘जेलमा भेट्दा उनले पञ्चायतसामु झुक्नु हुँदैन भनेर सुनाउनु हुन्थयो,’ ठाकुरबारे देउवाले भने,‘तत्कालीन राजामाथि बम फ्याल्न ठूलो हिम्मत चाहिन्थ्यो। उहाँलाई हामी सबैले सम्मान गर्नुपर्छ। उहाँले देखेका सपना पूरा गर्न सबै जना गम्भीर भएर लाग्नुपर्छ।’

क्रुर पञ्चायतका बेला राजा महेन्द्रमाथि बम फ्याल्ने हिम्मत जुटाएका अरविन्द ठाकुरलाई सबै नेपाली जनताले सम्मान गर्नुपर्ने उनले बताए। देउवाले प्रजातन्त्र र गणतन्त्रका लागि ठाकुरले पुर्‍याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे।

तत्कालीन राजा महेन्द्रले २०१७ सालमा ‘कू’ गरेर सत्ता हातमा लिएपछि ठाकुरलगायतका नेताहरू प्रजातन्त्र स्थापनाका लागि संघर्षमा उत्रिएका थिए।

२०१८ सालमा राजा महेन्द्रमाथि जनकपुरको जानकी मन्दिरमा बम प्रहार गरेका दुर्गानन्द झा र ठाकुर पक्राउ परेका थिए। तत्कालीन सरकारले झालाई मृत्युदण्ड दियो भने ठाकुर धेरै यातना सहेर रिहा भएका थिए। उनी जिउँदो सहिदको नामले समेत परिचित थिए।

 

प्रकाशित: १० मंसिर २०८१ १६:३६ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast