बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी बनाउन फिल्म बनाएका हाैँ : निर्देशक लामिछाने

हिमाल प्रेस ३ मंसिर २०८१ १३:३० | Monday, November 18, 2024
बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी बनाउन फिल्म बनाएका हाैँ : निर्देशक लामिछाने

काठमाडौँ- फिल्म ‘अग्निदहन’ यही शुक्रबार अर्थात् मंसिर ७ देखि प्रदर्शन हुँदैछ। प्रदर्शन नजिकिएसँगै निर्माण टिमले सोमबार (आज) पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। यो फिल्म साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित छ।

बोक्सी प्रथा उन्मुलन गराउन आफूहरुले फिल्म बनाएको फिल्मका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बताए। ‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौँ। बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेकाे घटना सार्वजनिक भइरहन्छन्। हामी फिल्ममार्फत बोक्सी हुँदैन र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन चाहन्छौँ’, उनले भने।

फिल्मकी कलाकार प्रमिला तुलाचनले आफूले ‘बोक्सी’ को आरोप लागेकी माइली दमिनीको चरित्र निर्वाह गरेको जानकारी दिइन्। उक्त चरित्र अध्ययन गर्न आफू सुकुम्बासी बस्ती पुगेको उनले खुलाइन्। ‘मैले निर्वाह गरेको चरित्र निकै चुनौतीपूर्ण थियो। समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुर्व्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु’, उनले भनिन्।

अर्की कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामी झाँक्रीले दिने यातना वास्तवमै असह्य हुने गरेको बताइन्। ‘फिल्ममा मलाई धामीले फलाम डामेको दृश्य छ। त्यो दृश्यको सुटिङ गरेको भोलिपल्टसम्म मेरो शरीरमा घाउ थियो। बोक्सीको आरोप लागेका महिलालाई साँच्चै धामीले त्यसरी डाम्दा उनीहरुलाई झन कति पिडा भयो होला’, उनले भनिन्।

 

निर्देशक घनश्याम लामिछानेले आफ्नो फिल्म व्यावसायिक हिसाबले नबनाएको बताए। ‘मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरेका हौं’, उनले भने।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ। फिल्ममा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद छ। कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन रहेको फिल्म दीर्घ खड्काको सम्पादन र शंकर पाण्डेको प्रोडक्सन डिजाइनमा बनेको छ।

प्रकाशित: ३ मंसिर २०८१ १३:३० | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast